आचारसंहिता उल्लंघन गरेको भन्दै काउन्सिलले गर्‍यो ३५ सञ्चारमाध्यमलाई कारबाही

प्रेस काउन्सिल नेपालले ३५ सञ्चारमाध्यम र दर्ता नभइ सञ्चालनमा आएका ४ अनलाइन पोर्टललाई कारबाही गरेको छ । आगामी चुनावलाई लक्षित गरी आचारसंहिताविपरीत समाचार सम्प्रेषण गरेका आधारमा काउन्सिलले कारबाही गरेको हो ।

२५ चैतमा निर्वाचन आयोगले निर्वाचन आचारसंहिता लागू गरेसँगै आमसञ्चारमाध्यमबाट पत्रकारले आचारसंहिता पालना गरे/नगरेको अनुगमन काउन्सिलले गर्दै आएको छ ।

अनुगमनका क्रममा २६ चैतदेखि हालसम्म ३५ सञ्चारमाध्यमबाट ३६ वटा सूचना आचारसंहिताविपरीत प्रवाह भएको काउन्सिलले जनाएको छ । जसमध्ये चारवटालाई काउन्सिलले २४ घण्टे स्पष्टीकरण सोधेको थियो । त्यसमध्ये २ सञ्चारमाध्यमबाट पेस भएको स्पष्टीकरण चित्तबुझ्दो नदेखिएकाले प्रथम पृष्ठमा क्षमायाचना प्रकाशन गर्न निर्देशनसमेत दिइएको काउन्सिलको भनाइ छ ।

प्रेस विज्ञप्ति जारी गर्दै काउन्सिलले भनेको छ, ‘६ पत्रपत्रिका, ३ रेडियो, ५ टेलिभिजन र १४ अनलाइन गरी २८ वटालाई निर्देशन दिइएको छ । निर्देशनपछि पनि दुई अनलाइनले आचारसंहिताविपरीत साम्रगी पुनः सम्प्रेषण गरेकोमा सचेत गराइएको छ । त्यस्तै चारवटा सञ्चारमाध्यमलाई ध्यानाकर्षण गराइएको छ ।’

चुनावलाई लक्षित गरी कुनै पनि गलत समाचार, दुष्प्रचार र घृणास्पद अभिव्यक्तिहरू सम्प्रेषण हुन नदिन, कसैको पक्ष वा विपक्ष हुनेगरी र राजनीतिक दल वा उम्मेदवारको प्रतिष्ठामा आँच पुयाउनेगरी सामग्री सम्प्रेषण नगर्न काउन्सिलले आग्रह गरेको छ ।

साथै, दल तथा उम्मेदवारको निर्वाचन प्रचारप्रसारका लागि निःशुल्क वा प्रायोजित विज्ञापन प्रकाशन/प्रसारण नगर्न नगराउन, सःशुल्क विज्ञापन प्रकाशन/प्रसारण गर्दा आचारसंहिताले तोकेअनुसार साइज, समय र पटकलाई ध्यान दिन, सामाजिक सञ्जालमार्फतबाट समेत यो वा त्यो दल र दलका उम्मेदवारको प्रचारप्रसारलाई अतिरञ्जना नगर्न/नगराउनहुन सञ्चारमाध्यमलगायत आमपत्रकार, सञ्चारकर्मी, सामाजिक सञ्जालका प्रयोगकर्ताहरूमा काउन्सिलले आग्रह गरेको छ । शिलापत्रबाट