उम्मेद्वारको उपस्थितिमा मागुरमाडीको शनि मन्दिर उद्घाटन

धुलाबारी । मेचीनगर वडा नं ९, मागुरमाडीमा स्थापना गरिएको शनि मन्दिरको विहीवार उद्घाटन गरिएको छ ।

शनि मन्दिर समितिको आयोजनामा भएको कार्यक्रमका बीच समाजसेवी तथा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईंले मन्दिर उद्घाटन गरेका हुन् । कार्यक्रममा उनले मन्दिरको भौतिक पूर्वाधार विकासका लागि सहयोग गर्ने वचन दिएका छन् । प्रसाईंले मन्दिरलाई आस्थाको धरोहरको रुपमा विकास गर्न सबैको सहयोग र सद्भाव आवश्यक रहेको बताए ।

आसन्न चुनावका लागि मेचीनगरमा सक्रिय राजनीतिक दलहरुबाट उम्मेद्वार बनेका प्रायः सबैलाई उपस्थित गराइएको कार्यक्रममा एमालेका तर्फबाट प्रमुख पदका उम्मेद्वार गोपाल बुढाथोकी, उपप्रमुखका उम्मेद्वार मीना पोखरेल उप्रेती, गठबन्धनका तर्फबाट मेचीनगर प्रमुखका उम्मेद्वार इन्द्रबहादुर बुढाथोकी, उपप्रमुखका उम्मेद्वार प्रकाश भण्डारी, राप्रपाका तर्फबाट उपप्रमुख उम्मेद्वार सविना बजगाईंलगायत वडाका उम्मेद्वारहरुको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा एमालेका तर्फबाट नगर प्रमुख पदका उम्मेद्वार गोपाल बुढाथोकी, राप्रपाका तर्फबाट उपप्रमुख पदका उम्मेद्वार सविना बजगाईं, मेचीनगर वडा नं ९ का वडाध्यक्ष गोपाल खड्कालगायतले शुभकामना मन्तव्य राखेका थिए ।

शनि मन्दिर समितिका अध्यक्ष देउमान गौलीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन जानुका ओली र मन्दिरको आर्थिक कारोबार सचिव घनश्याम सिवाकोटीले प्रस्तुत गरेका थिए ।

स्थानीय देउमान गौलीले दिएको एक कट्ठा जमिनमा मन्दिर स्थापना गरिएको हो । स्थानीय धर्मप्रेमी महानुभावको सहयोगबाट मन्दिर स्थापना भएको समितिका सचिव घनश्याम सिवाकोटीले बताए । अहिलेसम्म मन्दिर सञ्चालनमा तीन लाख ८५ हजार रुपैयाँ खर्च भइसकेको उनले बताए ।

मन्दिरको भौतिक पूर्वाधारसँगै त्यस ठाउँलाई योगाश्रमको रुपमा विकास गर्ने लक्ष्य समितिले बनाएको छ । सँगै नौ ग्रहको मन्दिरको रुपमा विकास गरिने जनाइएको छ । मन्दिर समिति सात सदस्यीय रहेको छ ।