सत्ता गठबन्धनलाई ‘विद्रोही’ उम्मेदवार व्यवस्थापनको चुनौती

काठमाडौँ । देशभर चुनावी तालमेल गर्ने निर्णय गरेका सत्ता गठबन्धनका नेताहरूलाई अहिले विद्रोही उम्मेदवारको व्यवस्थापन गर्न भ्याइनभ्याइ छ । पाँच दलले नेकपा एमालेविरुद्ध ६ महानगर र ११ उपमहानगरसहित देशभर गठबन्धन गरे पनि गठबन्धनका लागि विद्रोही उम्मेदवारले चुनौती दिएका छन् ।

गठबन्धनका शीर्ष नेताहरू नै लागे पनि विद्रोही उम्मेदवारहरू उम्मेदवारी फिर्ताका लागि तयार भएका छैनन् । पार्टीले टिकट नदिएपछि पार्टी र गठबन्धनविरुद्ध स्वतन्त्ररुपमा उम्मेदवारी दिएका नेता कार्यकर्ताको व्यवस्थापन गर्न गठबन्धनका शीर्ष नेताहरूलाई हम्मेहम्मे परेको छ । उम्मेदवारी दर्तापछि नेताहरूको सम्पूर्ण ध्यान स्वतन्त्र उम्मेदवारको मनोनयन फिर्ता गराउनमा केन्द्रित छ ।

गठबन्धन र पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध दिइएका स्वतन्त्र उम्मेदवारी फिर्ता गराउन नेताहरूले सबै शक्ति केन्द्रित गर्दा पनि स्वतन्त्र उम्मेदवारी दिएकाहरू भने डगमगाएका छैनन् । नेताहरूमा स्वतन्त्र उम्मेदवारले फिर्ता नलिए पराजय बेहोर्नुपर्ने डर देखिन्छ । निर्वाचन आयोगले स्थानीय तह चुनावको कार्यक्रमअन्तर्गत शुक्रबार बिहान १० बजेदेखि बेलुकी ५ बजेभित्र उम्मेदवारी फिर्ताको समय तोकेको छ । सो समयमा उम्मेदवारी फिर्ता नलिएका उम्मेदवारलाई आयोगले शनिबार चुनाव चिह्न दिनेछ । उम्मेदवारी फिर्ताको समयभित्रै विद्रोही उम्मेदवारहरूको व्यवस्थापन गर्न गठबन्धनका नेताहरू सक्रिय बनेका छन् ।

बुधबार बिहान सत्ता गठबन्धनका शीर्ष नेताहरूले गठबन्धनको निर्णयविरुद्ध आ-आफ्नो पार्टीबाट परेका स्वतन्त्र उम्मेदवारी फिर्ता गराउने, सहमति नभएका ठाउँमा सहमति गरेर चुनावी तालमेलको निर्णय गर्ने र गठबन्धन दलबाहेकसँग भएको तालमेल रद्ध गर्ने सहमति गरेका थिए । सहमतिबमोजिम पाँच दलका शीर्ष नेताले सामूहिक विज्ञप्तिसमेत निकालेका थिए । तर, केन्द्रबाट नेताहरूले जारी गरेको निर्देशन मान्न तल्ला तहका नेता कार्यकर्ता तयार छैनन् ।

नेताहरूले केन्द्रबाटै सिट बाँडफाँट गरेर तालमेल गरेका छन् । महानगरपालिकामै स्वतन्त्र उम्मेदवारले चुनौती दिएका छन् । गठबन्धनको नेतृत्वमा रहेको दल नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवालाई स्वतन्त्र उम्मेदवारी व्यवस्थापन गर्न नसके स्थानीय तह निर्वाचनमा गठबन्धन असफल हुने र त्यसको असर संघीय निर्वाचनमा हुने गठबन्धनमा पर्ने भयले सताएको छ । प्रधानमन्त्री देउवाले साझेदार दललाई मेयर पद दिएका भरतपुर र पोखरा महानगरपालिकामा स्वतन्त्र उम्मेदवारी फिर्ता गराउन विशेष चासो र सक्रियता देखाएका छन् ।

भरतपुरको मेयरमा नेकपा माओवादी केन्द्रबाट रेणु दाहाल र पोखराको मेयरमा नेकपा एकीकृत समाजवादीबाट धनराज आचार्य गठबन्धनका उम्मेदवार छन् । तर, स्थानीय कांग्रेस नेताहरूले भने गठबन्धनको विरोध गर्दै स्वतन्त्र उम्मेदवारी दिएका छन् । भरतपुरमा कांग्रेस नेता जगन्नाथ पौडेलको उम्मेदवारी छ भने पोखरामा नन्दुप्रसाद तिवारी, विमलबहादुर कार्की र ऋषि सापकोटाले उम्मेदवारी दिएका छन् ।

प्रधानमन्त्री देउवाले भरतपुर र पोखराका स्वतन्त्र उम्मेदवार फकाउन पार्टीका नेताहरूलाई परिचालन गरेका छन् । त्यसमध्ये पनि केन्द्रमा परेको छ, भरतपुर ।

प्रधानमन्त्री देउवाले बुधबार गृहमन्त्री बालकृष्ण खाँणलाई भरतपुर पठाएका थिए भने राज्यमन्त्री उमेश श्रेष्ठ पनि बिहीबार बिहान भरतपुर पुगेका छन् । गृहमन्त्री खाँण र राज्यमन्त्री श्रेष्ठले स्थानीय नेता कार्यकर्तासँग छलफलपछि मेयर उम्मेदवार पौडेललाई कृष्णपुरस्थित उनको निवासमै पुगेर स्वतन्त्र उम्मेदवारी फिर्ता लिएर गठबन्धनलाई विजयी गराउने अभियानमा लाग्न आग्रह गरेका छन् । तर, पौडेलले भने आफूले फिर्ता हुने गरी उम्मेदवारी दर्ता नगराएको भनेका छन् ।

‘यो मैले मात्र निर्णय गर्न मिल्ने विषय होइन । चितवनका साथीहरूको मानमर्यादा, प्रतिष्ठा र उहाँहरूको भविष्यको कुरा हो । मेरो कारणले केन्द्रीय गठबन्धन र सरकारलाई असर पर्ने म देख्दिनँ,’ भेटमा आफूले भनेको सुनाउँदै पौडेलले भने, ‘परिस्थिति धेरै अगाडि बढिसक्यो । अब म फिर्ता हुदिनँ ।’ बिहीबार बिहानमात्रै कांग्रेस सभापति एवम् प्रधानमन्त्री देउवाले देशभर पार्टी र गठबन्धनका उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका नेता कार्यकर्तालाई उम्मेदवारी फिर्ता लिन अपिल गरेका थिए ।

‘एउटा योग्य साथी एउटा पदमा उम्मेदवार बन्दै गर्दा अर्को उत्तिकै योग्य साथीले त्यो अवसर नपाइरहेको स्थितिप्रति म जानकार छु । तर पार्टीको विजयका लागि ‘साथीको उम्मेदवारी नै मेरो उम्मेदवारी’ भन्ने उच्चतम भावना राख्न आग्रह गर्दछु,’ देउवाको अपिल छ ।

भरतपुर कांग्रेसका स्वतन्त्र उम्मेदवार पौडेलको उम्मेदवारी फिर्ता गराउन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले समेत टेलिफोनमार्फत आग्रह गरेका थिए । कांग्रेसका पदाधिकारी र केन्द्रीय सदस्यहरूसमेत स्वतन्त्र उम्मेदवारको उम्मेदवारी फिर्ता गराउनमै केन्द्रित बनेका छन् ।

कांग्रेस महामन्त्री गगनकुमार थापाले बुधबारै पार्टीको निर्णयमा चित्त नबुझे स्वतन्त्र उम्मेदवारी दिएर पार्टी छोड्नुभन्दा पार्टीभित्रै संघर्ष गर्नुपर्ने सुझाएका थिए । ‘पार्टीको निर्णयमा हाम्रा असहमतिहरू छन्, निर्णय प्रक्रियमा हुँदासम्म आफ्नै विचारअनुसार निर्णय गराउन पहल गर्ने हो । तर, निर्णय भइसकेपछि पार्टीको निर्णय मान्नुको विकल्प छैन,’ थापाले भनेका थिए, ‘गएको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएको साथीलाई राम्रो भए पनि अहिले उम्मेदवार बनाउन सकिएन । अहिले तपाईंको स्वतन्त्र उम्मेदवारी फिर्ता नभएपछि पार्टीले हार्ला वा जित्ला; त्यो एउटा पक्ष हो । तर, फेरि अर्को चुनावमा तपाईं नै पार्टीको मूलधारबाट बाहिरिनुपर्ने हुन्छ ।’

बुधबारै कांग्रेस नेता शेखर कोइरालाले पनि स्वतन्त्र उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए । ‘जीवनभर कांग्रेसको सिद्धान्त, मूल्यपद्धति र आदर्शप्रति समर्पित वरिष्ठ साथीहरू यतिखेर पार्टी छाडेर अन्य पार्टीमा ओत लाग्न पुगेका छन् । कयौँ साथीहरू स्वतन्त्र उम्मेदवारको रुपमा चुनावी मैदानमा जान बाध्य हुनुहुन्छ; म ती साथीहरूलाई कांग्रेसको मूल प्रवाहमा फर्कन आग्रह गर्दछु,’ कोइरालाले भनेका थिए, ‘पार्टीभित्रको लडाइँ जारी राखौँला; अहिले उम्मेदवारी फिर्ता लिएर पार्टीलाई जिताउन सक्रिय बन्नुहोस् ।’

अर्का महामन्त्री विश्वप्रकाश शर्माले पार्टीले निर्णय नै गरिसकेपछि अब कसैको मुख हेर्ने बेला नरहेकोमा जोड दिए । ‘व्यक्ति जो-जो भए पनि रूख चिह्न लिएर उठेको व्यक्ति कांग्रेसको उम्मेदवार हो । हामी केही अप्ठ्याराहरू बेहोरिरहेका छौँ । पार्टीमा हामीले पनि चाहेजस्तै गरी सबै कुरा भइरहेको छैन,’ महामन्त्री शर्माले बिहीबार काठमाडौंमा भएको एक कार्यक्रममा भनेका छन्, ‘त्यसैले म अपिल र आग्रह गर्न चाहन्छु कि देशभरिका साथीहरूलाई उम्मेदवारी दर्ता भइसकेर टुंगोमा पुगिसकेको योबेलामा अब कसैको मुख हेर्ने होइन, रूख हेर्ने हो । रुखमा छाप हानेर पहिले पार्टीलाई विजयी गराउने हो, त्यसपछि यी विषयमा पनि पार्टीमा आन्तरिक छलफल गरौँला ।’

कांग्रेसबाट मात्रै देशभर पार्टी र गठबन्धनका उम्मेदवारविरुद्ध करिब तीन सय जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । ‘सकेसम्म सबैलाई सम्झाइबुझाइ गरेर उम्मेदवारी फिर्ता गराउने हो, नभए कारबाही गर्नुको विकल्प छैन,’ एक पदाधिकारीले भने । कांग्रेससँग सिट बाँडफाँट गरेका स्थानीय तहमा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका नेता कार्यकर्ताले पनि असन्तुष्टि जनाउँदै स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

सिट बाँडफाँट गर्दा कांग्रेसले मेयर र जसपाले उपमेयर पाएको विराटनगर महानगरपालिकामा माओवादी केन्द्रका नेता कार्यकर्ताले मेयर र उपमेयर दुवै पदमा उम्मेदवारी दिएका छन् । कांग्रेसले नागेश कोइरालालाई उम्मेदवार बनाएको छ भने जसपाका अध्यक्ष उपेन्द्र यादवले आफ्नै छोरालाई उपमेयर पदको उम्मेदवार बनाएका छन् । अध्यक्ष यादवले स्थानीय भावनाविपरीत गठबन्धन गरेर आफ्नै छोरालाई टिकट दिएको भन्दै जसपाका संघीय परिषद् सदस्य रहेका उमेश यादवले पार्टीबाट राजीनामा दिएर मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

त्यस्तै, माओवादी केन्द्रकी नेतृ केमुना ओडारीले मेयरमा र नमिता न्यौपानेले उपमेयरमा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

जनकपुर उपमहानगरपालिकाको मेयरमा कांग्रेसका नगर सभापति मनोज साहले पदबाट राजीनामा दिएर मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका छन् । केन्द्रबाट गठबन्धन गर्दा जनकपुरको मेयर जसपाको भागमा परेको थियो भने उपमेयरमात्रै कांग्रेसले पाएको थियो । जनकपुरमा साहको उम्मेदवारी फिर्ता गराउन कांग्रेस नेता विमलेन्द्र निधि सक्रिय छन् । तर, अहिलेसम्म सहमति भएको छैन ।

पार्टीमा असन्तुष्टि जनाउँदै स्वतन्त्र उम्मेदवारी दिएका नेता कार्यकर्ता आफैं उम्मेदवार हुनेबाहेक परिस्थितिमा समझदारी गर्न तयार छैनन् । देशभरका विद्रोही उम्मेदवारी फिर्तामा देखिएका समस्या र चुनावी तालमेलबारे गठबन्धनको कार्यदलले समेत छलफल गरिरहेको छ । बिहीबार साँझसमेत नेताहरू छलफलमै छन् । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वकाे कार्यदलले देशभरिको अवस्थाको बारेमा छलफल गर्ने र समस्याको पहिचान गरी समाधान गर्ने काम गरिरहेको कार्यदलका एक सदस्यले बताए ।कान्तिपुर