प्रदेश १ मा ९१ स्थानीय तहमा सत्ता गठबन्धन, ९ वटामा एमालेले गर्‍यो तालमेल

बिराटनगर । यसपटकको स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनका शीर्ष नेताहरूको प्रष्ट निर्देशन थियो,‘सत्तारूढ दलहरूबाहेक अरूसँग स्थानीय तहमा चुनावी तालमेल नगर्नू।’

केन्द्रका नेताहरूको यस्तो निर्देशन लत्याउँदै सत्ता गठबन्धनका दलहरूले ‘स्थानीय आवश्यकताका आधारमा’ प्रदेश १ मा बहुरंगी गठबन्धन गरेका छन्।

अझ रोचक त के छ भने सत्ता गठबन्धनका दलहरूलाई ‘एक–एक किलोको ढक’ को संज्ञा दिँदै  एमाले एक्लै  ‘क्विन्टल’ भएको दाबी एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेका थिए। उनै ओलीको दल एमालेले प्रदेश १ का केही तहमा व्यक्ति–व्यक्तिसँग गठबन्धन गरेको छ।

प्रदेश १ का १४ जिल्लामा १ महानगर, दुई उपमहानगर, ४६ नगरपालिका र ८८ वटा गाउँपालिका गरी कूल  १३७ स्थानीय तह छन्। यीमध्ये यसपटकको चुनावमा ३५ वटा पालिकामा कुनै पनि खाले गठबन्धन भएको छैन। बाँकी १०२ वटा स्थानीय तहमा भने कुनै न कुनै रूपको चुनावी तालमेल भएको छ।

सत्तारूढ  गठबन्धनले प्रदेशका ९१ वटा स्थानीय तहमा तालमेल गरेका छन्। कतिपय पालिकामा नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी सहभागी नभए पनि सत्ता गठबन्धनका प्रमुख दुई दल  कांग्रेस र  माओवादी भने ९१ वटै पालिकामा तालमेलमा सहभागी छन्।

त्यसबाहेक गठबन्धनभित्रकै जसपासँग एक ठाउँ र एकीकृत समाजवादीसँग एक गरी दुई ठाउँमा कांग्रेसले फरक गठबन्धन गरेको छ।

प्रदेशका  सात स्थानीय तहमा सत्ता गठबन्धनभित्रैका अन्य दलले कांग्रेसबाहेकको तालमेल गरेका छन्।

प्रदेशका दुई स्थानीय तहमा कांग्रेसले एमालेसँग समेत चुनावी तालमेल गरेको छ।  माओवादी र एमाले सहकार्य रहेको पालिका पनि प्रदेशमा एउटा छ।  सबैको उम्मेदवारी दर्ता भएको भए पनि खोटाङको हलेसी तुवाचुङ नगरमा माओवादी र एमालेबीच अघोषित तालमेल छ।

एमालेले प्रदेशभरीमा जम्मा ९ वटा पालिकामा अन्य दल र व्यक्तिसँग तालमेल गरेको छ। माओवादीका विद्रोहीलाई उपाध्यक्षको उम्मेदवार बनाएर एमालेले व्यक्तिसँग तालमेल गरेको हो।

ताप्लेजुङको  मेरिङदेन र सिदिङवामा उपाध्यक्ष दिएर एमालेले सहकार्य गरेको छ।

त्यस्तै, पाँचथरको  फिदिम नगरमा राप्रपा र राप्रपा नेपालसँग एमालेको तालमेल छ। पाँचथरकै  फाल्गुनन्द गाउँपालिकामा, सुनसरीको दुहबी नगर र  ओखलढुंगाको  मानेभन्ज्याङ गाउँपालिकामा एमालेले जसपासँग तालमेल गरेको छ। एमालेले कांग्रेससँग झापा कचनकवल र भोजपुरको आमचोकमा तालमेल गरेको छ।

यीबाहेक प्रदेशका ९१ पालिकामा सत्ता गठबन्धनबीच चुनावी तालमेल भएको छ।

इलामको १० वटै स्थानीय तहमा सत्ता गठबन्धनबीच तालमेल भएको छ। जसअनुसार सूर्योदयमा मेयर एकीकृत समाजवादीबाट र उपमेयर कांग्रेसबाट उम्मेदवार छन्।

इलाम नगरमा मेयर र उपमेयर दुवै पदमा कांग्रेसले उम्मेदवारी दिँदा  देउमाईमा मेयर कांग्रेस, उपमेयर माओवादी, माईमा मेयर माओवादी र उपमेयर कांग्रेसबाट छन्।

इलामको गाउँपालिकामध्ये सन्दकपुरमा  अध्यक्ष कांग्रेस, उपाध्यक्ष एकीकृत समाजवादी, माइजोगमाईमा अध्यक्ष एकीकृत समाजवादी, उपाध्यक्ष कांग्रेस, चुलाचुली अध्यक्ष कांग्रेस, उपाध्यक्ष माओवादी, रोङमा अध्यक्ष–उपाध्यक्ष दुवै कांग्रेस, फाकफोकथुममा अध्यक्ष कांग्रेस, उपाध्यक्ष माओवादी र  माङसेबुङमा अध्यक्ष कांग्रेस, उपाध्यक्ष जसपाबाट उम्मेदवार छन्।

पाँचथरका ८ वटै स्थानीय तहमा सत्ता गठबन्धनको तालमेल भएको छ।

फिदिममा मेयर कांग्रेस, उपमेयर माओवादीले लिएर तालमेल गर्दा अर्कातिर  एमाले र दुवै राप्रपाले पनि तालमेल गरेका छन्। त्यहाँ मेयर एमाले र उपमेयर राप्रपाले लिएर अर्को गठबन्धन बनेको हो।

गाउँपालिकामध्ये हिलिहाङमा अध्यक्ष कांग्रेस, उपाध्यक्ष एकीकृत समाजवादी, मिक्लाजुङमा अध्यक्ष माओवादी, उपाध्यक्ष कांग्रेस, तुम्बेवामा अध्यक्ष कांग्रेस, उपाध्यक्ष माओवादी , कुम्मायकमा अध्यक्ष कांग्रेस, उपाध्यक्ष माओवादी, फाल्गुनन्दमा अध्यक्ष कांग्रेस उपाध्यक्ष माओवादी, फालेलुङमा अध्यक्ष कांग्रेस, उपाध्यक्ष माओवादी,  याङवरकमा अध्यक्ष कांग्रेस, उपाध्यक्ष माओवादीले लिएर उम्मेदवारी दिएका हुन्।

एमालेले जसपासँग फाल्गुनन्दमा गठबन्धन गरेको छ। अध्यक्ष एमाले, उपाध्यक्ष जसपाले लिएर गरेको गठबन्धनले सत्ता गठबन्धनसँग प्रतिस्पर्धा गर्नेछ।

ताप्लेजुङका ९ वटै स्थानीय तहमा  सत्ता गठबन्धनकै दलहरूबीच चुनावी तालमेल भएको छ। जसमध्ये फुङलिङ नगरमा मेयर कांग्रेस, उपमेयरमा माओवादीले  उम्मेदवारी दिँदा गाउँपालिकाहरूमा मिक्वाखोला अध्यक्ष कांग्रेस, उपाध्यक्ष माओवादी, मैवाखोलामा अध्यक्ष माओवादी, उपाध्यक्ष कांग्रेस, आठराई त्रिवेणीमा अध्यक्ष कांग्रेस, उपाध्यक्ष माओवादी, फक्तालुङमा अध्यक्ष माओवादी, उपाध्यक्ष कांग्रेस, सिरिजंघामा अध्यक्ष कांग्रेस, उपाध्यक्ष माओवादी , सिदिङ्वामा अध्यक्ष कांग्रेस, उपाध्यक्ष माओवादी, पाथिभरा याङवरक अध्यक्ष कांग्रेस, उपाध्यक्ष माओवादी र  मेरिङदेनमा अध्यक्ष कांग्रेस उपाध्यक्षमा  एकीकृत समाजवादीबाट उम्मेदवार बनेका छन्।

एमालेले सिदिङवा र मेरिङदेनमा माओवादीबाट विद्रोही उम्मेदवारसँग गठबन्धन गरेर दुवै ठाउँमा विद्रोहीलाई उपाध्यक्षको उम्मेदवार बनाएको छ।

१० स्थानीय तह रहेको खोटाङमा दिक्तेल रूपाकोट मझुवागढी नगर तथा  ऐंसेलुखर्क, खोटेहाङ, जन्तेढुंगा बराहपोखरी र रावावेशी गाउँपालिकामा सत्ता गठबन्धनबीच तालमेल भएको छ। जसअनुसार दिक्तेल रूपाकोट मझुवजागढी, ऐंसेलुखर्क, बराहपोखरी, रावावेशीमा प्रमुख कांग्रेसले लिएको छ भने खोटेहाङ, ऐंसेलुखर्क, जन्तेढुंगाको उपाध्यक्ष कांग्रेसले लिएको छ।

माओवादीले ऐंसेलुखर्क, खोटेहाङ र जन्तेढुंगाको अध्यक्ष तथा दिक्तेल रूपाकोट मझुवागढीको उपप्रमुख र रावावेशीको उपाध्यक्ष लिएको छ। एकीकृत समाजवादीले  बराहपोखरीको उपाध्यक्ष लिएको छ।

जिल्लाको साकेला गाउँपालिकामा कुनै गठबन्धन छैन भने  दिप्रुङ चुईचुम्मा र केपिलासगढी गाउँपालिकामा  कांग्रेसबाहेकको सत्ता गठबन्धन बनेको छ। केपिलासगढीमा एकीकृत समाजवादीले  अध्यक्ष र  उपाध्यक्ष जसपाले लिँदा दिप्रुङ चुईचुम्माको अध्यक्ष–उपाध्यक्ष  दुवै पदमा माओवादी उम्मेदवार बनेका छन्।

हलेसी तुवाचुङ नगरमा भने सबैका अलग उम्मेदवार भए पनि एमाले र माओवादीबीच अघोषित तालमेल छ। एमालेले मेयर र माओवादीले उपमेयरमा अघोषित तालमेल गरेका हुन्।

तेह्रथुमका ६ पालिकामध्ये लालीगुराँस नगर र मेन्छ्याम गाउँपालिकाबाहेक सबैतिर सत्ता गठबन्धनका दलबीच तालमेल छ।
म्याङलुङमा मेयर कांग्रेस, उपमपेयर एकीकृत समाजवादी, छथरमा अध्यक्ष माओवादी, उपाध्यक्ष कांग्रेस, आठराईमा अध्यक्ष कांग्रेस, उपाध्यक्ष माओवादी, फेदापमा कांग्रेस अध्यक्ष र  उपाध्यक्षमा  माओवादीले उम्मेदवारी दिएका छन्।

झापाका १५ पालिकामध्ये १० वटामा सत्ता गठबन्धनको र एउटामा कांग्रेस एमालेको गठबन्धन भएको छ।

दमक नगरमा राप्रपासहित सत्ता गठबन्धनको तालमेल हुँदा मेयर राप्रपा र  उपमेयर कांग्रेसले पाएका छन्।

मेचीनगरमा मेयर कांग्रेस, उपमेयर माओवादी, विर्तामोडमा मेयर कांग्रेस, उपमेयर माओवादी, भद्रपुर मेयर कांग्रेस, उपमेयर माओवादी, अर्जुनधारा कांग्रेस मेयर, माओवादी उपमेयर, शिवसताक्षीमा कांग्रेस मेयर, माओवादी उपमेयर, गौरादहमा कांग्रेस मेयर, माओवादीले उपमेयर, कमलमा अध्यक्ष कांग्रेस, उपाध्यक्ष माओवादी, बाह्रदसीमा अध्यक्ष कांग्रेस, उपाध्यक्ष माओवादी र बुद्धशान्तिमा अध्यक्ष कांग्रेस एवम् उपाध्यक्षमा  माओवादी उम्मेदवार बनेका छन्।

झापाको  कनकाई नगर, झापा, गौरीगन्ज र हल्दिबारी गाउँपालिकामा गठबन्धन छैन। कनकाईमा कांग्रेसका विद्रोही व्यक्तिलाई माओवादी, एकीकृत समाजवादी  र जसपाले समर्थन गरेका छन्।

कचनकवलमा कांग्रेसले अध्यक्ष र एमालेले उपाध्यक्ष लिएर राप्रपाविरूद्ध गठबन्धन गरेका छन्।

मोरङका १७ मध्ये  पाँच वटामा माओवादी–कांग्रेससहितको गठबन्धन छ भने एउटामा कांग्रेस र जसपाको तथा दुइटामा माओवादी र एकीकृत समाजवादीको गठबन्धन बनेको छ। मोरङको  एउटा पालिकामा कांग्रेस–एकीकृत समाजवादीबीच गठबन्धन छ।

विराटनगर महानगरमा कांग्रेस मेयर, जसपा उपमेयरको उम्मेदवार बन्दा  सुन्दरहरैंचामा कांग्रेस मेयर, माओवादी उपमेयर, रतुवामाईमा कांग्रेस मेयर, माओवादी उपमेयर, लेटाङमा मेयर कांग्रेस र उपमेयर माओवादी उम्मेदवार बनेका छन्।

यसैगरी मोरङको  रंगेलीमा कांग्रेस र जसपाको गठबन्धन बनेको छ। कांग्रेसले  मेयर र  जसपाले  उपमेयर लिएर रंगेलीमा गठबन्धन गरेका हुन्।

उर्लाबारीमा एकीकृत समाजवादीले मेयर र माओवादीले  उपमेयर र पथरीमा माओवादी मेयर र एकीकृत समाजवादीका उपमेयर उम्मेदवार छन्।  बुढीगंगा गाउँपालिकामा  अध्यक्ष माओवादी र उपाध्यक्षमा एकीकृत समाजवादीले उम्मेदवारी दिएका छन्। मोरङका यी तीन स्थानीय तहमा माओवादी र एसको मात्रै गठबन्धन बनेको छ।

मिक्लाजुङ गाउँपालिकामा अध्यक्ष कांग्रेस र  उपाध्यक्ष माओवादीले लिएर गठबन्धन हुँदा केराबारीमा कांग्रेस र एकीकृत समाजवादीको तालमेल भएको छ।

केराबारीमा अध्यक्ष कांग्रेस र उपाध्यक्षमा एकीकृत समाजवादीबाट उम्मेदवार छन्।

मोरङका सुनवर्षी र बेलबारी नगर तथा कानेपोखरी, धनपालथान,कटहरी, जहदा, ग्रामथानमा भने कुनै पनि  गठबन्धन बन्न सकेन।

सुनसरीका १४ मध्ये धरान, इटहरी उपहमहानगरमा सत्तारूढ दलहरू सबैको गठबन्धन छ। बराहक्षेत्र नगरमा कांग्रेस र माओवादीको तथा दुहबी नगरमा एमाले र जसपाको गठबन्धन छ।

धरानको मेयरमा कांग्रेस, उपमेयरमा माओवादी, इटहरीको मेयरमा कांग्रेस, उपमेयर एकीकृत समाजवादी, बराह क्षेत्रको मेयरमा कांग्रेस, उपमेयरमा माओवादी उम्मेदवार छन्।

त्यस्तै, सुनसरीको दुहबीमा एमाले–जसपा तालमेल भएको छ। मेयरमा एमाले र उपमेयरमा जसपाले उम्मेदवार उठाएर चुनावी तालमेल गरेका हुन्।

इनरुवा र  रामधुनी नगर तथा  कोशी, देवानगन्ज, गढी, बर्जु, भोक्राहा नरसिंह, हरिनगर गाउँपालिकामा कसैको कोहीसँग गठबन्धन बनेको छैन।

धनकुटाको सातै तहमा सत्तारूढ गठबन्धन बनेको छ। धनकुटाको मेयर कांग्रेस, उपमेयर माओवादी, पाख्रिबासको मेयर कांग्रेस उपमेयर माओवादी, महालक्ष्मीको मेयर कांग्रेस उपमेयर माओवादी, साँघुरीगढीमा अध्यक्ष कांग्रेस, उपाध्यक्ष जसपा, चौबीसेमा अध्यक्ष माओवादी, उपाध्यक्ष जसपा, छथर जोरपाटीमा अध्यक्ष कांग्रेस, उपाध्यक्ष माओवादी, सहिदभूमिमा अध्यक्ष एकीकृत समाजवादी र  उपाध्यक्ष कांग्रेसले लिएर तालमेल गरेका हुन्।

उदयपुरका आठमध्ये ६ स्थानीय तहमा सत्तारूढ गठबन्धन बनेको छ भने दुइटामा माओवादी र एकीकृत समाजवादीको मात्रै तालमेल छ।

त्रियुगा नगरमा मेयर एकीकृत समाजवादी, उपमेयर माओवादी, चौदण्डीगढीमा मेयर एकीकृत समाजवादी र उपमेयर माओवादीले लिएर तालमेल गर्दा सत्ता गठबन्धनको मुख्य दल कांग्रेस यी दुइटै स्थानीय तहमा एक्लै चुनावी मैदानमा छ।

त्यसैगरी कटारीमा मेयर कांग्रेस, उपमेयर माओवादी, बेलकामा मेयर कांग्रेस, उपमेयर माओवादी, उदयपुरगढीमा अध्यक्ष एकीकृत समाजवादी, उपाध्यक्ष कांग्रेस, ताप्लीमा अध्यक्ष माओवादी, उपाध्यक्ष कांग्रेस, रौतामाईमा अध्यक्ष माओवादी, उपाध्यक्ष कांग्रेस र  लिम्चुङबुङमा अध्यक्ष माओवादी र उपाध्यक्षमा कांग्रेस उम्मेदवार बनेका छन्।

ओखलढुंगाका  ८ मध्ये चम्पादेवी र लिखु गाउँपालिकाबाहेक सत्ता गठबन्धनको सबै स्थानीय तहमा तालमेल छ।

सिद्धिचरण नगरमा मेयर कांग्रेस, उपमेयर माओवादी, खिजिदेम्बामा अध्यक्ष उपाध्यक्ष दुवै कांग्रेस, चिसंखुगढीमा अध्यक्ष माओवादी, उपाध्यक्ष कांग्रेस, मानेभन्ज्याङमा अध्यक्ष  माओवादी, उपाध्यक्ष कांग्रेसले लिएर तालमेल गरेका छन्।

मानेभन्ज्याङमा एमालेले अध्यक्ष र जसपाले उपाध्यक्ष लिएर अर्को गठबन्धन गरेका छन्। मोलुङमा अध्यक्ष कांग्रेस र उपाध्यक्ष माओवादी, सुनकोशीमा दुवै कांग्रेसले लिएर तालमेल गरेका छन्।

सोलुखुम्बुका ८ मध्ये माप्य दूधकोशीमा मात्रै सत्ता गठबन्धन बन्दा अरूमा सबै एक्लै चुनावी मैदानमा छन्। माप्य दुधकोशीमा अध्यक्ष कांग्रेस, उपाध्यक्ष माओवादीले लिएर गठबन्धन गरेका हुन्।

भोजपुरका नौमध्ये अरूण गाउँपालिका र  पौवादुङ्मा गाउँपालिकामा गठबन्धन बनेको छैन। आमचोकमा भने अध्यक्ष एमाले र उपाध्यक्ष कांग्रेसले लिएर माओवादीविरूद्ध गठबन्धन गरेका छन्।

भोजपुर नगरमा सत्ता गठबन्धनबाट मेयर कांग्रेस, उपमेयर एकीकृत समाजवादी, षडानन्दमा मेयर कांग्रेस, उपमेयर माओवादी, टेम्केमैयुङमा अध्यक्ष कांग्रेस, उपाध्यक्ष एकीकृत समाजवादी, रामप्रसाद राईमा अध्यक्ष माओवादी, उपाध्यक्ष कांग्रेस, साल्पा सिलिछोमा अध्यक्ष कांग्रेस, उपाध्यक्ष माओवादी, हतुवागढीमा अध्यक्ष कांग्रेस, उपाध्यक्षमा माओवादीले उम्मेदवारी दिएका छन्।
संखुवासभाका १० मध्ये चिचिला र सिलिचोङ गाउँपालिकामा गठबन्धन छैन। बाँकीमा सत्ता गठबन्धनका दलहरूबीच तालमेल छ।

चैनपुर नगरमा मेयर कांग्रेस, उपमेयर माओवादी, धर्मदेवी नगरमा मेयर उपमेयर दुवै कांग्रेस, खाँदबारी मेयर कांग्रेस, उपमेयर माओवादी, मादीमा मेयर माओवादी, उपमेयर कांग्रेस, पाँचखपनमा मेयर कांग्रेस, उपमेयरमा एकीकृतले उम्मेदवारी दिएका छन्।

भोटखोलामा अध्यक्ष एकीकृत समाजवादी, उपाध्यक्ष कांग्रेस, मकालुमा अध्यक्ष कांग्रेस, उपाध्यक्ष माओवादी, सभापोखरीमा अध्यक्ष कांग्रेस, उपाध्यक्ष एकीकृत समाजवादीले लिएर तालमेल गरेका छन्। सेतोपाटी