को हुन् ओलीको गृहनगरमा एमालेको दबदबा तोड्ने राम थापा ?

झापा । नेकपा एमालेको दबदबा रहेको झापाको दमक नगरपालिकामा राप्रपाका ६८ वर्षे राम थापा विजयी बनेका छन् । थापाको विजयले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गृहनगरमा धक्का लागेको छ । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र राप्रपाको संयुक्त उम्मेदवार बनेका राम थापाको जितपछि झापामा एमाले समर्थक निराश बनेका छन् ।

२०६१ सालको शाहीकालमा ८ महिना दमक नगरपालिकाको प्रमुख बनेका थापा दलहरूको संयुक्त जनआन्दोलनपछि पदच्युत भएका थिए । अहिले राप्रपाको प्रदेश १ का अध्यक्षसमेत रहेका थापा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको विपरीत धारका हुन् । उनलाई प्रदेश पार्टी अध्यक्षमा हराउनका लागि लिङ्देनले भक्ति सिटौलालाई अघि सारेका थिए । तर सिटौलालाई थापाले पराजित गर्दै पार्टी अध्यक्ष बनेका थिए ।

थापा लामो समयदेखि स्थानीय र संसदको चुनावमा भाग लिँदै आएका थिए । तर, उनको दोस्रो स्थान मात्रै आउने गरेको थियो । यसअघि थापा संसदीय निर्वाचनमा एमाले अध्यक्ष ओलीसँग प्रतिस्पर्धा गरेका थिए । ओली विजयी हुँदा थापा दोस्रो भए । ०७४ सालको स्थानीय निर्वाचनमा दलहरु एक्ला एक्लै प्रतिस्पर्धामा रहँदा पनि थापाले प्रमुख पदमा प्रतिस्पर्धा गरेका थिए । त्यसबेला थापा एमालेका रोमनाथ ओलीबाट पराजित बने । तत्कालीन झापा जिल्ला विकास समितिको निर्वाचनमा पनि नेता थापा उप–सभापतिमा १ मतले पराजित भएका थिए ।

निर्वाचनमा पहिलो बन्ने थापाको इच्छा यस पटक भने पुरा भएको छ । नेता थापाले राष्ट्रवादी विद्यार्थी मण्डलबाट २०३५÷०३६ सालदेखि नै भद्रपुरको मेची बहुमुखी क्याम्पसबाट राजनीतिक यात्रा सुरु गरेका थिए । संयुक्त जनआन्दोलनपछि बदनाम बनेको राप्रपाको राजनीतिमै अडिएर सोही पार्टीको चुनाव चिन्हबाट दमकको प्रमुख पदमा विजयी हुनु उनका लागि कठिन थियो । तर, यस पटक उनले साकार पारका छन् ।

थापाले एमालेको गढ भत्काउँदै ५५९ मतान्तरले शुक्रबार विजयी भए । विजयी थापाले १७ हजार ५२५ मत पाउँदा एमालेका उम्मेदवार गीता कुमारी अधिकारी पौडेलले १६ हजार ९६६ मत पाइन् ।

झापामा एमालेविरुद्ध महागठबन्धन थियो । देशभर एक्लै चुनाव लड्ने घोषणा राजेन्द्र लिङ्देनले गरिरहँदा थापाले भने प्रदेश १ मा सत्ता गठबन्धनसँग छलफल अगाडि बढाएका थिए । उनले चलाएको उक्त छलफलप्रति पार्टीभित्र केही असन्तुष्टि पनि देखिएको थियो । तर, पछि गठबन्धनमा राप्रपाका थापा सहभागी हुँदा उनले मेयर पाए भने काँग्रेसले उपमेयर पाएको थियो । जुन गठबन्धन दमकमा सफल भएको छ ।

​उनले दमक नगरपालिका बनेदेखि नै निर्वाचित मेयर बन्ने सपना बन्दै आएका थिए । २४ वर्षअघि पहिलोपटक मेयर लडेका उनले त्यसयता प्रयास जारी राखेका थिए । त्यसअघि उनी वडा अध्यक्षमा निर्वाचित भएका थिए ।

२०४९, २०५४ र २०७४ मा भएका तीन वटै स्थानीय चुनावमा दमकको प्रमुख र उपप्रमुखसहित बहुसंख्यक सिटमा एमालेले जितेको थियो । यसपटक पाँच दलको गठबन्धन बन्दा पनि एमालेले बहुमत वडामा जितेको छ । तर, प्रमुखमा थापालाई हराउन भने एमालेले सकेन । झापाको १, २, ३, ५, ६, ८ र ९ नम्बर वडामा एमालेले जितेको छ । वडा नम्बर ४ र १० कांग्रेसले जित्दा राप्रपाले वडा नम्बर ७ मात्रै जितेको छ ।

थापाका लागि बहुमत वडा लिएर बसेको नेकपा एमाले र कमजोर उपस्थितिमा बनेको आफ्नो नेतृत्वको टिमले दमकलाई अघि बढाउनु पर्ने चुनौती छ । दमकको मेयर बन्ने उनको सपना पुरा भएपनि उनले लिने हरेक निर्णय र कार्यदक्षताले उनको कार्यकाल सफल र असफलताको टुंगो लाग्नेछ ।