सेयर बजारको समस्या सम्बोधन गर्ने काङ्ग्रेस महामन्त्री शर्माको वचन

झापा ।  झापास्थित नेपाल पुँजी बजार लगानीकर्ता सङ्घले अत्यन्त कठिन मोडमा पुगेको नेपाली सेयर बजार जोगाउनुपर्ने माग गरेको छ ।

शनिबार प्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवालाई दुई पृष्ठको ज्ञापनपत्र बुझाउँदै सङ्घले त्यस्तो माग गरेको हो । सङ्घले पाँच बुँदे माग अघि सारेको छ ।

सरकार, राष्ट्र बैङ्क र सरोकारवाला निकायबीच समन्वय र सामञ्जस्यता नहुँदा सेयर बजार धरापमा परेको सङ्घको निष्कर्ष छ । सङ्घले काङ्ग्रेस महामन्त्री विश्वप्रकाश शर्मामार्फत् प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाएको हो ।

आफ्नो गृहनगर धुलाबारीमा ज्ञापनपत्र बुझ्दै महामन्त्री शर्मालेले सरकारले स्पष्ट नीति बनाएर समस्या सम्बोधन गर्नु पर्ने बताए । उनले समस्या समाधानका लागि पार्टीको तर्फबाट आवश्यक सहयोग गर्ने विश्वास दिलाए ।

‘बोलीमा मात्रै होइन, हामी व्यवहारमै काम र कार्यान्वयन गर्न चाहान्छौँ,’ महामन्त्री शर्माले भने, ‘सरकारले आफैँ चासो दिएर हल गर्नुपर्ने समस्या तपाइँहरूले उठाइरहनुभएको छ, पार्टी र सरकार यो समस्या सम्बोधन गर्ने विषयमा सकारात्मक छन् ।’

सेयर बजारलाई कसैले अनुत्पादक क्षेत्र भनेर बोल्दिँदा समस्या भएको उनको टिप्पणी छ । सरकारले सेयर बजारको लगानी व्यवस्थित गर्नुपर्ने ठाउँमा व्यवसायीले सरकारलाई घच्घच्याएकामा महामन्त्री शर्माले प्रसन्नतासमेत व्यक्त गरे ।

महामन्त्री शर्माले  भने, ‘अब राजनीतिक मान्छेलाई घच्घच्याउने अवस्थाको अन्त्य हुन्छ, त्यसका लागि सामूहिक पहल जरुरी छ ।’  सरकारले सेयर बजारमा आकर्षण बढाउने नीति बजेटमा समावेश गरेको उल्लेख गरेका महामन्त्री शर्माले प्रधानमन्त्री, अर्थमन्त्री र राष्ट्र बैङ्कका गर्भनरसँग छलफल गरेर समस्या समाधानको मार्ग पहिल्याउने आश्वासन दिए ।

राष्ट्र बैङ्कद्वारा सेयर कर्जामा लगाइएको ४/१२ करोडको क्याप हटाइनुपर्ने, सेयर कर्जाको जोखिमभार डेढबाट सय कायम गरिनुपर्ने, बैङ्क तथा वित्तीय संस्थालाई सेयर कारोबारमा लगाइएको प्रतिबन्ध फुकुवा गरिनुपर्ने, बैङ्कलाई ब्रोकर लाइसेन्स र शाखा खोल्न अनुमति दिइनुपर्ने, काठमाडौँमा आन्दोलनरत पुँजी बजार लगानीकर्ता सङ्घ÷सङ्गठनका नेतृत्वसँग वार्ता र संवादका माध्यमबाट समस्याको समाधान गरिनुपर्ने लगायतका माग ज्ञापनपत्रमा छन् ।

महामन्त्री शर्माले समस्याको हल गर्न आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने वचन दिए । उनले बुझेको ज्ञापनपत्र तत्काल प्रधानमन्त्री देउवालाई पठाए । प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवालाई ह्वाटसेपमा ज्ञापनपत्र पठाएर शर्माले  प्रधानमन्त्रीलाई तत्काल जानकारी गराउन आग्रह गरेका छन् ।

महामन्त्री शर्माले आफू काठमाडौँ गएपछि सभापति देउवालाई भेटेर अर्थमन्त्री, गभर्नर, सरोकारवाला  र प्रधानमन्त्रीको प्रत्यक्ष निर्देशनमा समस्या सुल्झाउन पहल गर्ने विश्वास दिलाए । लगानीकर्ता सङ्घ झापाका अध्यक्ष कृष्ण कार्की, महासचिव रमेश लुइँटेलसहितको टोलीले लगानीकर्ताले ज्ञापनपत्र बुझाएको हो ।

त्यस अवसरमा उनीहरूले लगानीकर्तालाई सुकुमबासी हुनबाट बचाउन, डिप्रेसनमा जान नदिन, आत्महत्या गर्नबाट जोगाउन, लगानी सुरक्षित गर्नुपर्नेलगायत माग गरेका थिए । उनीहरूले झापामा मात्रै पाँच लाख लगानीकर्ता रहेको र आमलगानीकर्ताको समस्या सम्बोधन गर्न सरकारसँग माग गरे ।