खोलामा जेसिबी प्रयोगमा रोक

मेचीनगर । मेचीनगर नगरपालिकाले नदीजन्य पदार्थ उत्खनन्मा ठेक्का सम्झौता गरेको चारवटा खोला मध्ये ३ वटामा मात्र जेसिवी प्रयोग गर्न बन्द गरेको छ ।

मेचीनगर नगरपालिकाले नदीजन्य पदार्थ उत्खनन्मा ठेक्का सम्झौता गरेको ४ मध्ये तीनवटा नदीहरु निन्दा, हँडिया र टिमाई खोलामा ठेकेदारलाई जेसिवी मेसिनबाट प्रयोग गर्न बन्द गरेको हो ।

उपप्रमुख एवम् अनुगमन समिति संयोजक मीना पोखरेल उप्रेतीले ठेकेदारसँग सम्झौता भएअनुसार मेची खोला बाहेक निन्दा, हँडिया र टिमाई खोलामा निर्माण सामाग्री उत्खनन् गर्दा जेसिवी प्रयोग नगर्न आग्रह गरिएको बताइन् ।

ठेक्का सम्झौता अनुसार आईई प्रतिवेदन भएका निन्दा, हँडिया र टिमाइ मध्ये मेची खोलामा जेसिवी मेसिन प्रयोग गर्न बन्द नगरिएको नगरपालिकाका आर्थिक विकास शाखा प्रमुख दिपेन्द्र कार्कीले जानकारी दिए । ठेक्का अनुसार केही दिनका लागि घर तथा अन्य सामाग्री निर्माण सम्बन्धी नदी उत्खनन् गर्न ट्याक्टर प्रयोग गर्न रोक नलगाइएको उनको भनाई छ ।

सरकारले देशभर असार १ गतेदेखि तीन महिनासम्म नदीजन्य पदार्थहरू उत्खनन् गर्न प्रतिबन्ध लगाउने गरेको छ । मेचीनगरमा पनि चाँडै सार्वजनिक सूचना जारी गरेर नदीजन्य पदार्थहरू उत्खनन्मा प्रतिबन्ध लगाउने तयारी गरिएको उपप्रमुख उप्रेतीले बताइन् ।