मोरङमा जन्तीमाथि आक्रमण : मोटरसाइकल जलाइयो, तीनजना घाइते

काठमाडौं । मोरङमा जन्तीमाथि आक्रमण भएको छ । आक्रमणमा तीनजना घाइते भएका छन् । एक मोटरसाइकलसमेत जलाइएको छ ।

जहदा गाउँपालिकाको मझारेस्थित बुदन गन्गाई मण्डलको घरमा हुने विवाहमा सुनबर्षी नगरपालिका वडा–९ डाइनियाबाट जन्ती गइरहेको अवस्थामा आक्रमण भएको हो ।

जहदा गाउँपालिकाको मझारेमा पुगेपछि सोही स्थानमा बस्ने २३ वर्षीय विकास मण्डल गन्गाई, श्याम यादव, धिरज मण्डल गन्गाई, दीपक पासवान, विश्वजित मण्डल गन्गाई, दिपेन मण्डल गन्गाईसमेतको समूहले एक्कासी जन्तीमाथि आक्रमण गरेको प्रहरीले जनाएको छ । सो क्रममा जन्ती पक्षका तीनजना घाइते भएका छन् ।

घटनामा को १८प ७५४१ नम्बरको मोटरसाइकल जलाइएको प्रहरीले जनाएको छ । घटनामा संगग्न दुईजना पक्राउ परेको र अन्यको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।