बुद्धको जीवनमा गुरू पूर्णिमाको महत्त्व

आषाढ पूर्णिमालाई हिन्दू धर्ममा गुरू पूर्णिमाको रूपमा मनाइन्छ । यही पूर्णिमाको दिन गौतम बुद्धले पहिलो धर्म देशना गरेका थिए । एक किसिमले उनी जीवनमा पहिलो पल्ट कसैको गुरू बनेका थिए । उनले पाँच जना ब्राह्मणलाई आफ्ना शिष्यको रूपमा स्वीकारेका थिए । त्यसबाहेक पनि बुद्धको जीवनमा आषाढ पूर्णिमाका अन्य महत्त्व छ । भनिन्छ, आषाढ पूर्णिमाको दिन बुद्धको जीवनसँग जोडिएका पाँच संयोग छन् ।

सर्वप्रथम बोधिसत्वको आमाको गर्भमा प्रवेश आषाढ पूर्णिमाकै दिनमा भएको थियो । उनान्तीस वर्षको उमेरमा यही दिन बोद्धिसत्व सिद्धार्थ राजकुमारले ज्ञानको खोजमा दरबार त्यागेका थिए । अनि, माथि उल्लेख गरेजस्तै बोधिज्ञान प्राप्तिपछि पहिलो धर्मदेशना पनि यही दिन जुराएर गरेका थिए । बुद्धत्व प्राप्तिको नवौं वर्ष उनले एउटा सम्यक सम्बुद्धले मात्र सम्पादन गर्न सक्ने रिद्धि प्रतिहार्यहरू जनसमुदायलाई देखाएका थिए ।

रिद्धि प्रतिहार्य प्रदर्शन गरेर सोही दिन उनी आफ्नी दिवंगत आमा मायादेवीलाई धर्मदेशना गर्न तावतिंस नामको स्वर्गलोकमा गएका थिए । बोधिसत्व सिद्धार्थ जन्मेको सात दिनपछि नै आमा मायादेवीको देहावसान भएको थियो । त्यसपछि उनी तावतिंस देवलोकमा देवता भएर जन्मेकी थिइन् । गौतम बुद्ध तीन महिना स्वर्गलोकमा बसी आमासहित सम्पूर्ण देवगणलाई अभिधर्मको उपदेश दिएका थिए । अभिधर्म बुद्धधर्मको दर्शनको ग्रन्थ हो । यो ग्रन्थ मानिसलाई सुनाएका सूत्रजस्तो सरल छैन ।

बुद्धको प्रथम उपदेश

वैशाख पूर्णिमामा ज्ञान प्राप्त गरेपछि उनी दुइ महिनासम्म मौन बसेका थिए । बुद्धले आफूले प्राप्त गरेको ज्ञान कसैलाई नबाँडेको देखेर ब्रह्मा र इन्द्र चिन्तित बनेका थिए । उनीहरू बुद्धसामु आएर मौन बस्नुको कारण सोधेका थिए । बुद्धले मौन बस्नुको कारण खुलाए, “यस्तो गम्भीर ज्ञान मानिसले बुझ्न सक्ला कि नसक्ला ?” ब्रह्मा र इन्द्रले बुझ्न सक्ने मानिस पनि यही धर्तीमा छन् भने तथा ज्ञानको प्रसारको लागि बुद्धसमक्ष प्रार्थना गरेका थिए । वास्तवमा ज्ञान भनेको कसैले प्रार्थना वा अनुरोध गरेपछि प्रदान गरिने हो, त्यसमा नै ज्ञानको सम्मान हुन्छ ।

बुद्धले पहिलो उपदेश पञ्चभद्रलाई दिएका थिए । त्यो घटना वाराणसी नजिकैको सारनाथमा भएको थियो । बुद्धको पहिलो उपदेश सुन्ने पञ्चभद्र पाँच ब्राह्मणहरू थिए । बोधिसत्व बोधिज्ञानको लागि प्रयासरत रहँदा ती पाँच ब्राह्मणले सेवा गरिरहेका थिए, तब बुद्धले उपवास लिएर कठिन तपस्या गरिरहेका थिए । लामो समयसम्म कठोर तपस्या गर्दा पनि ज्ञान लाभ नभएकाले उनले भिक्षा लिएर खाना खान सुरू गरेका थिए । त्यो देखेर ती पाँच ब्राह्मणले सोचे कि अब यो तपस्वी पथभ्रस्त भयो, यसले ज्ञान लाभ गर्न सक्तैन । त्यसैले तिनले बोधिसत्वलाई छाडेर जाने निधो गरेका थिए ।

ब्रम्हा र इन्द्रको प्रार्थनापछि बुद्ध तिनै पाँच ब्राह्मणलाई खोज्दै जान्छन् र तिनलाई वाराणसी नजिकै सारनाथमा भेट्छन् । बुद्धले मैले ज्ञान प्राप्त गरिसकें भनेपछि ती ब्राह्मणले पहिला पत्याएनन् । तर पछि ज्ञानको कुरा सुनाउन अनुरोध गरे । अनि सुरू हुन्छ, बुद्धको पहिलो उपदेश । धर्मचक्र चल्न आरम्भ भएको सूत्र भएकोले सो सूत्रको नाम धर्मचक्र प्रवर्तन सूत्र रहन गएको हो ।

पहिलो सूत्रका उपदेश

आषाढ पूर्णिमाको दिन बुद्धले देशना गरेको धर्मचक्र प्रवर्तन सूत्रमा के के कुरा छन् त ?

वास्तवमा त्यो अत्यन्त छोटो सूत्र थियो । मूल पालि भाषामा एक हजारभन्दा कम शब्द रहेको यो छोटो सूत्रमा बुद्धका सबै मूल दर्शन सारसंक्षेपमा छ । त्यस सूत्रले समेटेका दर्शनहरू हुन्ः मध्यम मार्ग, चार आर्यसत्य तथा अष्टांगिक मार्ग ।

मध्यम मार्ग

सिद्धार्थ गौतम दरबारमा हुँदा उनलाई पिता राजा शुद्धोदनले भोग विलासमा भुलाएर राखेका थिए । गृह त्यागपछि मुक्तिको लागि प्रयासरत रहँदा उनले कठोर तपस्चर्या गरे । अन्तिममा उनले मध्यम मार्ग अपनाए र बुद्धत्व प्राप्त गरे । त्यसैले उनले आफ्नो पहिलो उपदेशको सुरूमै भने, “शरीरलाई न धेरै सुखमा भुलाउनु उपयुक्त, न दुःख दिनु नै उपयुक्त हो । साधकले मध्यम मार्गमा रही साधना गर्नुपर्छ ।”

यही कुरा सर्वसाधारणको जीवनमा पनि लागु हुन्छ । मध्यम मार्ग भनेको सन्तुलित मार्ग हो । हाम्रो जीवन सन्तुलित हुनुपर्छ । पैसा र सम्बन्ध, काम र आराम, सन्तुष्टि र महत्वाकांक्षा सबैमा सन्तुलन रह्यो भने जीवन सुन्दर बन्छ । असन्तुलित भयो भने जीवन तनावपूर्ण हुन्छ ।

यही मध्यम मार्ग दर्शन पनि बन्न पुग्छ । भौतिकवाद भन्छ, अस्तित्व भौतिक तत्त्वले बनेको हो । अध्यात्मवाद भन्छ, अस्तित्व चेतनाले बनेको हो । बुद्धको दर्शन बीचको दर्शन हो । त्यसले भन्छ, भौतिक तत्त्व र चेतनाको अन्यौन्याश्रित सम्बन्धबाट अस्तित्व बन्यो । ती मध्ये कुनैको पनि आफ्नो स्वतन्त्र अस्तित्व छैन । तिनका अस्तित्व एक अर्काेमा निर्भर रहन्छन् । यसैलाई प्रतीत्य समुत्पादको दर्शन भनियो । प्रतीत्य समुत्पाद अर्थात् एकापसमा आश्रित भएर उत्पत्ति हुने अस्तित्वको स्वभाव । यसैलाई शून्यताको दर्शन पनि भनिन्छ । किनभने कसैको पनि स्वतन्त्र अस्तित्व नभएकाले सबैको मूल स्वभाव शून्यता हो । यसैलाई बुझाउन बुद्धको जीवनको एउटा प्रसंग उल्लेख गर्छु ।

बुद्धलाई कसैले आएर सोध्यो, “आत्मा छ ?” बुद्ध मौन रहे ।

लामो समयपछि पनि उत्तर नपाएपछि उसले फेरि सोध्यो, “त्यसो भए आत्मा छैन ?”

बुद्ध फेरि पनि मौन रहे ।

केही पनि उत्तर नपाएपछि त्यो मान्छे उठेर गयो । छाँयाजस्तै भएर सधैँ बुद्धको साथमा बसिरहने आनन्दले अचम्म मान्दै सोधे, “तपाईं किन मौन रहनुभयो ? के तपाईंलाई उत्तर थाहा छैन ?”

बुद्धले आनन्दलाई भने, “यदि मैले आत्मा छैन भनेँ भने केही मूर्ख मानिसहरूले सम्झने छन् कि जब मानिसको आत्मा नै हुँदैन त जसले जसलाई काटे पनि, मारे पनि भयो । आत्मा नभएपछि पुनर्जन्म पनि हुने भएन । पाप–धर्म पनि हुने भएन । जसले जे गरे पनि हुने अराजक स्थिति आउँछ ।”

“यदि मैले आत्मा छ भनेँ भने केही मूर्ख मानिसहरूले सम्झने छन् कि मानिसको आत्मा अजर अमर हुन्छ, मर्ने त केवल शरीर हो । त्यसैले मानिसलाई काटे पनि, मारे पनि कुनै पाप हुँदैन । आत्महत्या गरे पनि भयो । त्यसले पनि अराजक स्थिति पैदा गर्छ ।”

बुद्धले विशेषतः ‘सम्यक’ भन्ने शब्द प्रयोग गर्छन् । त्यसको अर्थ ‘ठीक’ (राइट) भनी अनुवाद गर्ने गरिएको छ । तर बुद्धको शिक्षामा सम्यक शब्द ठीक–बेठीक भन्ने अभिप्रायमा भन्दा पनि उचित, उपयुक्त, हितकारी भन्ने अर्थमा प्रयोग भएको छ । त्यसैले कतिपय विद्वानहरूले बुद्धलाई दार्शनिकभन्दा पनि मनोवैज्ञानिक उपचारक भन्छन् । कसलाई, कुन अवस्थामा, के भन्यो भने उसको हित हुन्छ भन्ने जान्ने व्यक्ति भन्छन् । त्यो सही कुरा पनि हो । तर त्यसको अर्थ बुद्ध धर्ममा दर्शन छैन भन्ने होइन । प्रतीत्य समुत्पाद र माध्यमिक दर्शन धेरै गहिरा दर्शन हुन् ।

चार आर्य सत्य र अष्टांग मार्ग

मध्यम मार्गको उपदेश दिइसकेपछि बुद्धले सत्यको उपदेश दिन्छन् । बुद्धका चार सत्य छन्–

१. दुःख छ ।

२. दुःखको कारण छ ।

३. दुःखको निवारण छ ।

४. दुःख निवारणको मार्ग छ ।

हामी सबैले जीवनमा दुःखको अनुभूति गरेका हुन्छौं । अनि सुखको चाह गर्छौं । यहाँ दुःख भनेको हामीले बुझ्ने सुखको विपरीतको दुःख होइन । समग्र अस्तित्व नै दुःखमय छ भन्न खोजिएको हो । जन्मनु नै दुःख । मर्न पर्नु पनि दुःख । अस्तित्वमा रहनु नै दुःख । हामीले जसलाई सुख ठान्छौं, ती पनि असलमा दुःखै हुन् । दुःख सत्य भनेको दुःखलाई समग्रमा बुझ्नु हो । दुःखको सम्पूर्णतामा दर्शन गर्नु हो, न कि सुख र दुःखको भेदमा ।

दुःखको कारण हो तृष्णा । तृष्णाकै कारण हामीले जन्म लिन्छौं । दुःख निवारण सम्भव छ । अर्थात् तृष्णा निवारण सम्भव छ । तृष्णा निवारणको बाटो हो, अष्टांगिक मार्ग । अष्टांगिक मार्ग अर्थात् आठ अंग भएको मार्ग । ती आठ हुन्—

१. सम्यक दृष्टि २. सम्यक संकल्प ३. सम्यक वचन ४. सम्यक कर्म ५. सम्यक आजीविका ६. सम्यक व्यायाम ७. सम्यक स्मृति ८. सम्यक समाधि ।

यसलाई मार्ग (बाटो) भनिए पनि आठवटा डाँठ भएको चक्रमा देखाइएको हुन्छ । चक्र भनेको घुमेर चलिरहने कुरा हो । जहाँबाट सुरू हुन्छ, घुमेर फेरि त्यहीँ आउँछ । अष्टांग मार्गको चक्र सम्यक दृष्टिबाट सुरू हुन्छ । दृष्टि स्पष्ट नभई आध्यात्मिक यात्रा सुरू हुँदैन । त्यसपछि अन्य अंगमा घुम्दै सम्यक समाधिपछि फेरि सम्यक दृष्टिमै टुंगिन आउँछ । अर्थात्, सम्यक समाधिबाट उत्पन्न हुने सम्यक दृष्टि नै हो । यो चक्र स्वयम्भित्र जति पटक चल्यो, साधना त्यति नै गहिरिँदै जान्छ । सम्यक स्मृति (माइन्डफुलनेस) को अभ्यासले समाधि गहिरिन्छ । सम्यक समाधिले दृष्टि स्पष्ट हुँदै जान्छ । अन्तिममा अस्तित्वको चक्र प्रतीत्य समुत्पादबाट चलिरहेको देखिन्छ, त्यो भनेको शून्यता दर्शन हो ।

धर्मचक्र प्रवर्तन सूत्रको अन्त्यमा बुद्ध भन्छन्, “मैले तृष्णा जरादेखि काटिसकें, म विमुक्त भइसकें । अब मेरो फेरि जन्म सम्भव छैन । म जन्म मरणको चक्रबाट मुक्त भएँ ।” बुद्धको पहिलो उपदेश पञ्चभद्रलाई दुःख अर्थात् जन्म–मरणको चक्रबाट मुक्त हुन सिकाउनु थियो । उनले आफूले बुद्धत्व प्राप्त गर्दै गर्दाका अनुभूति यसमा सुनाउँछन् । ती अन्तर अनुभूति थिए, इन्द्रीय अनुभूति होइनन् । यही सूत्र सुन्दै गर्दा पञ्चभद्रमध्ये सबभन्दा जेठो कौण्डन्य मुक्तिको श्रोतमा अवस्थित हुन्छ, अथवा बौद्ध भाषामा श्रोतापन्न हुन्छ । अनि पाँचै जनाले बुद्धलाई गुरू मान्दै शिष्यत्व ग्रहण गर्छन् ।

बुद्ध धर्ममा गुरू पूर्णिमा वा आषाढ पूर्णिमाको यस्तो महत्त्व छ ।

लेखक साहित्यकार तथा बौद्ध दर्शनका अध्येता हुन् । उनका पुस्तक ‘कन्सियस लिडरशिप’ अँग्रेजीमा छ भने नेपालीमा ‘क्षितिजको स्पर्श’र ‘कवितामा आकाश’ पुस्तक प्रकाशित छन् > रातोपाटीबाट