मेची क्राउनको अवैध धन्दा, सञ्चालकले दिए प्रहरीको जागिर खाइदिने धम्की

मेचीनगर । सशस्त्र प्रहरीले धुलाबारीमा सञ्चालित होटल मेची क्राउनले नेपाल भित्राएको प्रतिबन्धित भारतीय रुपैँयासहित पाँच जनालाई पक्राउ गरेको छ । शनिबार सशस्त्र प्रहरीले जोरसिमलस्थित चेक प्वाइन्टमा चेकजाँचका क्रममा पाँचलाख एक्काइस हजार भारतीय रुपँैयासहित पाँच पक्राउ गरेको हो ।

पाँचतारे होटल मेची क्राउनले रिर्जभ गरेको टोयटा कम्पनीको डब्लु बि ७४ बि एच १६४३ नम्बरको इनोभा कारमा लुकाएर नेपाल भित्राइएको दुई हजार र पाँच सय दरका प्रतिबन्धित नोटसहित भारत असाम तिनसुकिया बस्ने आनन्द कुमार सदेका, प्रमोद जलान, मनोज अग्रवाल, अशोक अग्रवाल र खोरीबारी बस्ने सवारी चालक अभिजीत सिंह पक्राउ परेका हुन् । उनीहरुको साथबाट बरामद गरिएको नगद, सवारीसहित थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय इटहरीलाई बुझाइएको सशस्त्र प्रहरी श्रोतले जानकारी दिएको छ । पक्राउ परेकाहरुको साथबाट प्रतिबन्धित २ हजार दरका एक सय एक र पाँच सय दरका ६ सय अठतिस थान भारतीय रुपैँया वरामद गरीएको हो ।

यता, आफुले नाकामा सेटीङ गरी नेपाल छिराएको प्रतिबन्धित नोट जोरसिमल चेक प्वाइन्टमा खटिएका प्रहरीले पक्राउ गरेपछि आक्रोसित मुद्रामा चेक प्वाइन्ट पुगेका होटलका सञ्चालक बले भन्ने बलाराम सापकोटाले डिउटीमा खटिएका सशस्त्र प्रहरीलाई धम्काएका छन् । उनले दुईजना पत्रकारलाई आफै भात खुवाएर तिमीहरुको निगरानी गर्न पठाउने भन्दै थर्काएका हुन् । सापकोटाले पावर लगाएर सबै प्रहरीको सरुवासमेत गरीदिने धम्की दिएको एक प्रहरीले बताए ।

यस्तै, भारतीय सिमा नजिकै खोलीएको यो पाँचतारे होटलले पटक-पटक गलत धन्दा चलाउँदै आएपनि काँकरभिट्टा नाकामा खटिएका प्रहरी कर्मचारी मुखदर्शक बन्ने गरेका छन् । होटलले विभिन्न बहानामा भारतबाट भाडामा सामान ल्याउने र भन्सारमा कम मुल्याङ्कन गरी सोही बराबरको धरौटी मात्रै राखेर भारतीय अबैध सामान यतै राख्ने गरेको स्रोतले बताएको छ ।