प्रदेशको नामाकरण प्रक्रिया साउन १५ गतेदेखि अघि बढ्न सक्छः मुख्यमन्त्री राई

झापा । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र कुमार राईले प्रदेशको नामकरण प्रक्रिया साउनको १५ गतेबाट सुरु हुन सक्ने बताएका छन्।

सोमबार विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित सुरक्षा प्रमुखहरुको बैठकमा मुख्यमन्त्री राईले प्रदेश सभाको बैठक सुरु भएको एक सातापछि नामाकरणको विषय अघि बढ्न सक्ने संकेत गरेका हुन्। प्रदेश सभाको बैठक साउन ८ गतेबाट सुरु हुँदैछ।

मुख्यमन्त्री राईले नामकरणका बेला हुनसक्ने सुरक्षा चुनौतीबारे सजग रहन बैठकमा उपस्थित सुरक्षा प्रमुखहरुलाई निर्देशन दिएका थिए।

प्रदेश नामाकरणका लागि प्रदेश सभाले साउन ६ गते सर्वदलीय बैठक आह्वान गरेको बताउँदै मुख्यमन्त्री राईले सो बैठकबाट नामाकरणको विषयले केही रुप धारण गर्न सक्ने उल्लेख गरेका थिए। उनले प्रदेशको नामकरण गर्ने विषय र जिम्मेवारी प्रदेशसभाको भएको उल्लेख गर्दै सरकारले प्रक्रियामा सहजीकरण मात्रै गर्ने बताए।

बैठकमा उनले कोरोना संक्रमण बढ्दै गएकोमा चिन्ता व्यक्त गरे। उनले कोरोना संक्रमण फैलिन नदिन रणनीतिका साथ काममा जुट्न निर्देशन दिए।

बैठकमा प्रदेश सरकारका मन्त्री, प्रमुख सचिव, सचिव, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धानका प्रदेश प्रमुखसहित नेपाली सेना भैरव गणका गणपति, मोरङ र सुनसरीका प्रमुख जिल्ला अधिकारीहरूको सहभागिता रहेको थियो।