विश्वप्रकाशका आँखा काठमाडौं-५ मा, झापा सजिलो कि काठमाडौं ?

झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा मंसिर ४ गते हुने संसदीय चुनाव काठमाडौंबाट लड्ने तयारी गरिरहेका छन् ।

उनीनिकट एक नेताले दिएको जानकारीअनुसार शर्मा काठमाडौं क्षेत्र नम्बर ५ मा लड्ने तयारीसहित छलफल गरिरहेका छन् ।

काठमाडौं-५ बाट २०७४ मा कांग्रेसका प्रकाशशरण महत उम्मेदवार बनेका थिए । महतलाई हराएर नेकपा एमालेका नेता ईश्वर पोखरेलले चुनाव जिते ।

यही क्षेत्रमा शर्मा उठ्ने तयारीमा छन् । महामन्त्री शर्मा २०७४ मा झापा क्षेत्र नम्बर १ बाट उठेका थिए । उनी नेकपा माओवादीका नेता राम कार्कीसँग पराजित भए ।

कार्कीले ३६ हजार एक सय ७३ मत ल्याएका थिए भने शर्माले ३३ हजार तीन सय १० मत मात्रै पाएका थिए ।

त्यसबेला नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर वाम गठबन्धन गरेर चुनाव लडेका थिए ।

शर्मानिकट ती नेताका अनुसार शर्मा मंसिर ४ मा हुने प्रतिनिधि सभा चुनावमा झापा १ मै लड्न चाहन्छन् । तर त्यहाँ उनलाई सजिलो अवस्था छैन ।

‘उहाँको पहिलो प्राथमिकता झापा-१ बाटै चुनाव लडेर जितेर आउनेमै हुन्छ । तर त्यहाँ उहाँलाई रोक्न खोजियो भने काठमाडौं-५ बाट पनि लड्न सक्नुहुन्छ,’ शर्मानिकट नेताले भने, ‘झापामा कांग्रेसभित्रै आन्तरिक एकता देखिएको छैन । यसले महामन्त्री शर्मालाई अप्ठेरो पार्न सक्छ ।’

पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र शर्माबीच झापामा लामो समयदेखि राजनीति सम्बन्ध सुमधुर छैन । एकले अर्को टिमलाई रोक्न खोज्ने स्रोतको दाबी छ ।

शर्मानिकट स्रोतका अनुसार सिटौला पक्षले शर्मालाई खुलेर सहयोग गर्ने अवस्था नदेखिएपछि शर्मा झापा-१ बाट यसपालि चुनाव लड्न हच्किएका छन् ।

गत स्थानीय चुनावमा पनि झापामा सिटौला र शर्मा समूहबीच सम्बन्ध राम्रो भएन । शर्माकै गृह नगर मेचीनगरको मेयरमा कांग्रेस उम्मेदवार पराजित भए ।

यहाँ टिकट वितरण नै विवादित बनेको थियो । शर्मानिकट इन्द्रबहादुर बुढाथोकी मेयर उठे पनि एमालेसँग पराजित भएका थिए । यहाँ प्रदेश नम्बर १ कांग्रेसले मेयरका लागि केशवराज पाण्डेलाई टिकट दिएको थियो । पाण्डे सिटौलानिकट हुन् । प्रदेश १ कांग्रेस सभापति पनि सिटौलानिकट उद्धव थापा छन् ।

स्थानीय चुनावमा शर्मा र सिटौला पक्षबीच शक्ति संघर्ष देखिएको थियो । सुरूमा सिटौलानिकट केशवराजले मेयर टिकट पाए । उक्त टिकट महामन्त्री शर्माले खोसेर उनीनिकट इन्द्रबहादुरलाई दिलाएको आरोप छ ।

यसपालि सत्ता गठबन्धनका ५ दलभित्र चुनावी तालमेल गरेर जाने सहमति भइसकेको छ । उक्त सहमतिअनुसार सिट बाँडफाँट गर्न ११ सदस्यीय कार्यदल गठन गरिएको छ । जसको संयोजकमा सिटौला छन् ।

शर्मानिकट ती नेताका अनुसार सिटौला सिट बाँडफाँट कार्यदलमा रहेकोले शर्मालाई प्रत्यक्षतर्फ टिकट नदिन उनले लबिङ गर्न सक्छन् वा त्यो क्षेत्र माओवादीलाई छाडिदिन सहमत हुन सक्छन् ।

कांग्रेस संसदीय बोर्डले टिकट बाँड्छ र उक्त बोर्डमा महामन्त्री शर्मा पनि हुन्छन् । शर्मालाई पार्टीभित्रबाट नै हराउन खोज्ने स्थिति देखा परे उनले यसपालि क्षेत्र परिवर्तन गर्दै काठमाडौं-५ बाट उठ्न सक्छन् ।

शर्मालाई झापा र काठमाडौंमध्ये कहाँ सजिलो ?

काठमाडौं-५ मा स्थानीय चुनावको मत हेर्दा वडाध्यक्ष उम्मेदवारहरूले पाएको मतलाई आधार मान्दा कांग्रेस दोस्रो पार्टी हो । यहाँ एमाले पहिलो पार्टी हो उसका वडाध्यक्ष उम्मेदवारले १९ हजार सात सय ३ मत पाएका छन् । कांग्रेसका वडाध्यक्ष उम्मेदवारले १४ हजार आठ सय ५३ मत ल्याएका छन् ।

यहाँ राप्रपाले दुई हजार ८ सय २२ मत ल्याएको छ भने नेकपा (एकीकृत समाजवादी) ले एक हजार ८ सय २७ मत ल्याएको छ । नेकपा माओवादी केन्द्रले एक हजार एक सय ६८ मत ल्याएको छ । अरू दलका वडाध्यक्ष उम्मेदवारले एक हजार तीन सय १५ मत ल्याएका छन् ।

यहाँ पाँच दलीय गठबन्धनको मत जोड्दा एमालेसँग करिब २ हजार मत नपुग्ने देखिन्छ । कांग्रेस महामन्त्री शर्माले यो मत लोकप्रियताका आधारमा आफूतर्फ तान्न सक्ने विश्वास गरेका छन् ।

२०७४ को चुनावमा झापा-१ मा माओवादीका राम कार्कीसँग शर्मा दुई हजार ८ सय ६३ मतान्तरले पराजित भएका थिए ।  त्यसबेला कार्की वाम गठबन्धनका साझा उम्मेदवार थिए ।

यसपालि भएको स्थानीय चुनावमा झापा-१ मा कांग्रेस एमालेभन्दा निकै पछि छ । यहाँ एमालेले ३१ हजार दुई सय ३२ मत ल्याएको छ ।

कांग्रेसले भने २४ हजार ५९ मत ल्याएको छ ।

माओवादीले तीन हजार ९ सय ९५, नेकपा एकीकृत समाजवादीले एक हजार दुई सय ५२, जसपाले ६९, राप्रपाले ६ हजार ९ सय २0२ र स्वतन्त्रले दुई हजार २ सय ५६ मत ल्याएका छन् ।

गठबन्धनका अन्य पार्टीको मत जोड्दा यहाँ कांग्रेसले २९ हजार हराहारी मत पुर्‍याउँछ तर एमाले एक्लैको मत ३१ हजार बढी छ । एमालेसँग राप्रपाले गठबन्धन गरे ३६ हजारभन्दा बढी मत पुर्‍याउने देखिन्छ ।

स्थानीय चुनावको मत हेर्दा शर्मालाई झापा-१ भन्दा काठमाडौं-५ मा चुनाव जित्न सहज देखिन्छ ।

सिटौलासँग अझै सुध्रिएन सम्बन्ध

गत मंसिरमा भएको कांग्रेसको १४ औं महाधिवेशनबाट विश्वप्रकाश शर्मा महामन्त्री निर्वाचित भए । यो महाधिवेशनमा सिटौला भने उम्मेदवार भएनन्, सभापतिमा शेरबहादुर देउवाको समर्थक बसे ।

युवा नेताहरू गगन थापा र शर्मा महामन्त्रीमा उम्मेदवार हुँदा सिटौलाले आफूनिकट प्रदीप पौडेललाई पनि महामन्त्रीमा प्रतिस्पर्धा गर्न उतारेका थिए, सभापति देउवाकै टिमबाट ।

थापा र शर्माले महामन्त्री जिते । महामन्त्री जितेपछि गत पुस ४ मा सिटौलालाई भेट्न शर्मा उनकै निवास चन्डोल पुगे ।

त्यसबेला शर्माले सिटौलासँग आशिर्वाद मागेका थिए । सिटौलासँग भेटमा शर्माले ‘आफू आशिर्वाद लिन आएको बताउँदै विगतमा जे-जे भयो, तीतामीठा सबै बिर्सेर अघि बढौं’ भनेका थिए ।

सिटौलाले पनि शर्मालाई ढाडस दिए ।

‘तिमी महामन्त्री भयो,अझै अघि बढ्नू । विगतमा जे-जे भयो ती सबै तीतामीठा कुरालाई अब बिर्सिऔं,’ सिटौलाले भनेका थिए ।

एकै जिल्ला झापाका सिटौला र शर्माबीच राजनीति सम्बन्ध तिक्ततापूर्ण छ ।

२०५७ मा नेविसंघ केन्द्रीय सभापतिमा शर्माले दाबी गरेपछि सिटौला उनको विपक्षमा खुलेरै लागेका थिए । यद्यपि शर्मा सभापति बनेका थिए। त्यही बिन्दुदेखि यी दुईबीच असमझदारी चुलिन सुरू भएको थियो ।

सिटौला र शर्मा बीचको दरारपूर्ण सम्बन्धको उत्कर्ष कांग्रेसको १२ औं महाधिवेशन थियो । त्यो बेला शर्मा झापा सभापतिमा चुनाव लड्दा सिटौलाले उद्धव थापालाई अघि सारेका थिए, शर्मा पराजित भए ।

पछिल्लो समयमा केन्द्र र जिल्ला दुबैतिर शर्माले शक्ति बढाउँदै लगेपछि सिटौला सशंकित रहेको कांग्रेस वृत्तमा चर्चा छ । यही आपसी बेमेलले उनीहरूबीच कटुतापूर्ण प्रतिस्पर्धाको अवस्था ल्याएको हो ।