ज्यान मुद्दाका आरोपीलाई इन्टरपोलको सहयोगमा नेपाल ल्याइयो

काठमाडौं : कतारमा लुकिछिपी बस्दै आएका ज्यान मुद्दाका एक आरोपीलाई नेपाल ल्याइएको छ। कतार एयरलाइन्सको क्युआर६४६ नम्बरको उडानबाट सोमबार साँझ ७:२५ बजे आरोपी भनिएका राम मगरलाई नेपाल ल्याइएको हो।

कतार प्रहरीले इन्टरपोलको सहयोगमा मगरलाई काठमाडौं ल्याई नेपाल प्रहरीलाई बुझाएको छ। नेपाल प्रहरीका प्रवक्ता टेकबहादुर राईले मगरलाई इन्टरपोलको सहयोगमा पक्राउ गरिएको बताए। ‘हत्या आरोपी मगर लामो समयदेखि फरार भएपछि हामीले रेडकर्नर नोटिस जारी गरेका थियौं। सोही आधारमा इन्टरपोलको साहयतामा उनी पक्राउ परेका हुन्,’ प्रवक्ता राईले अन्नपूर्णसँग भने।

काठमाडौंको कोटेश्वरमा विसं २०६३ सालमा आरोपी मगरले गोपालबहादुर खड्काका छोरा मनोज खड्काको कुटपिट गरी हत्या गरेका थिए। हत्यापछि उनी फरार रहेका थिए। विदेशमा लुकिछिपी बसेको हुनसक्ने भन्दै प्रहरीले उनीविरुद्ध रेडकर्नर नोटिस जारी गरेको थियो। मगर दोलखाका स्थायी बासिन्दा हुन्।