ताप्लेजुङमा तिलकुमारको दाबीपछि योगेश भट्टराई विश्वप्रकाशको क्षेत्रमा झर्ने चर्चा

झापा । अधिकांश समय काठमाडौंकेन्द्रित हुने नेताहरू मंसिर ४ गतेका लागि चुनावको मिति घोषणा भएपछि गाउँघरमा देखिन थालेका छन् ।

यसरी काठमाडौं छाडेर गाउँ आउनेमध्ये एमालेका केन्द्रीय सचिव योगेश भट्टराई पनि एक हुन् । चुनावको मिति घोषणा भएसँगै उनले गृहजिल्ला ताप्लेजुङमा दौडधूप बढाएका छन् ।२०६४ र २०७० को निर्वाचनमा काठमाडौं– ६ बाट पराजय भोगेका योगेश २०७४ को निर्वाचनमा जन्मथलो ताप्लेजुङबाट विजयी बने ।

अघिल्लोपटक माओवादीसहितको वाम गठबन्धनबाट विजयी योगेशलाई यसपटक भने टिकट लिन नै ठूलो कसरत गर्नुपर्ने देखिन्छ ।

उनलाई एमालेकै पोलिटब्यूरो सदस्य तिलकुमार मेयाङ्बोले चुनौती दिइरहेका छन् । मेयाङ्बो अध्यक्ष केपी शर्मा ओलीसँग निकट मानिन्छन् । उनले योगेशलाई ताप्लेजुङमा पाहुनाको संज्ञा समेत दिएका छन् ।

‘उहाँको जन्म मात्रै ताप्लेजुङ हो । काठमाडौंमा राजनीति गर्नुभयो । म २०७४ मा जिल्ला अध्यक्ष थिएँ । पार्टी अध्यक्ष हुँदा नै उहाँलाई उम्मेदवार बनाउने निर्णय गरेको हुँ । दुईपटक काठमाडौंले माया नगरेपछि मैले शर्त नै राखेर उहाँलाई सहयोग गरेको हुँ । त्यति बेलाका शर्त उहाँले मान्नुपर्छ,’ मेयाङ्बोले भने ।

अघिल्लोपटक निर्वाचन लड्दा नै यसपटक आफूलाई छाड्ने गरी सहमति भएको उनले दाबी गरे ।

‘ताप्लेजुङको संगठन निर्माणमा उहाँको कुनै भूमिका छैन,’ तिलकुमारले थपे, ‘अहिले पनि उहाँले टिकट पाउनुभयो भने परिणाम उल्टो आउन सक्छ । यो कुरा केन्द्रीय कमिटीले पनि बुझ्नुपर्छ ।’

योगेशलाई पार्टीभित्रै चुनौती खडा भएपछि ताप्लेजुङमा चुनावी हावा जोडतोडले चल्न थालेको छ । यता योगेशले भने पार्टी सचिव भएको नाताले आफूले नै टिकट पाउने दाबी गरेका छन् ।

‘लोकतन्त्रमा सबैलाई बोल्ने छूट हुन्छ । केन्द्रीय सचिव भएकाले पनि मैले नै टिकट पाउँछु भन्नेमा विश्वस्त छु । उहाँले अहिले दाबी गर्नुभएको हो, पछि मलाई नै सघाउनुहुन्छ,’ भट्टराईले भने ।

पार्टी अध्यक्ष ओलीनिकट नेताबाटै टिकटमा दाबी आएपछि योगेश उपाध्यक्ष सुवास नेम्वाङलाई लिएर ताप्लेजुङ पुगेका थिए ।

उनी पार्टीका दोस्रो तहका नेताहरूलाई रिझाएर टिकट हत्याउने रणनीतिमा लागेको जिल्ला नेताहरू बताउँछन् ।

ताप्लेजुङमा टिकट नपाए योगेश झापा– १ मा झर्न सक्ने चर्चा पनि छ ।

अघिल्लोपटक वाम गठबन्धनबाट माओवादीका सुरेन्द्र कार्की रामले चुनाव जितेको यो क्षेत्रमा एमालेबाट रविन कोइराला आकांक्षी छन् । यो कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माको क्षेत्र पनि हो ।

अघिल्लो चुनावमा झापा– १ को सडक ‘अफ्रिकन सुन्दरीका गालाजस्तै चिल्लो’ बनाउने चुनावी नारा बनाएका राम कार्कीले भने ताप्लेजुङ जाने रहर व्यक्त गर्न थालेको चर्चा छ ।

अघिल्लोपटक वाम गठबन्धन हुँदा विश्वप्रकाश शर्मालाई चुनाव हराएका कार्कीको टिकट यसपटक झापा १ मा पक्का भइसकेको छैन । विश्वप्रकाश कांग्रेसको महामन्त्री नै बनिसकेकाले उनको दाबी बलियो बनेको छ ।

झापा– १ विश्वप्रकाशको परम्परागत क्षेत्र भएकाले कार्कीका लागि विकल्पमा ताप्लेजुङलाई लिइएको माओवादी नेताहरू बताउँछन् ।

ताप्लेजुङमा कांग्रेसको हेभीवेट उम्मेदवार नभएकाले पनि कार्कीलाई ताप्लेजुङ लैजाने चर्चा चलेको हो ।

ताप्लेजुङमा कांग्रेसबाट पूर्वमन्त्री मणि लामा, इच्छाराम गुरुङ र केशवप्रसाद दाहालको नाम चर्चामा छ ।

पार्टी सभापति शेरबहादुर देउवानजिकका नेता भएका पनि लामाले टिकट पाउने सम्भावना रहेको कांग्रेसका जिल्लास्तरका नेताहरू बताउँछन् ।

कांग्रेसका जिल्ला सभापति गजेन्द्र तुम्मेहाङले भने प्रदेशमा उठ्ने इच्छा व्यक्त गरेका छन् ।

ताप्लेजुङमा अघिल्लोपटक भट्टराई २९ हजार ४७९ मत ल्याएर विजयी भएका थिए । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका केशव दाहालले १६ हजार ८८८ मत प्राप्त गरेका थिए ।

वैशाख ४ गतेको स्थानीय तह निर्वाचनले ताप्लेजुङमा एमालेलाई बलियो देखाएको छ ।

गठबन्धन दलहरू कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी र जनता समाजवादीका वडाध्यक्षहरूको मत जोड्दा २५ हजार १२ हुन्छ, जबकि एमाले एक्लैको २४ हजार २९५ मत छ ।

एमालेले ३ गाउँपालिका जितेको छ भने कांग्रेसले १ नगरपालिका र ३ गाउँपालिका तथा माओवादी केन्द्रले १ गाउँपालिकामा जीत हात पारेका छन् ।

६१ वडा रहेको ताप्लेजुङमा एमालेले २९, कांग्रेसले १५, माओवादी केन्द्रले १० र नेकपा एकीकृत समाजवादीले २ वटा वडा जितेका छन् । यस्तै अन्य ४ वडा स्वतन्त्रले जितेका छन् ।