के तीजले बिकृतिमात्रै ल्याएको छ ?

 

भीमा शिवाकोटी

चाडपर्वहरू मध्ये हरितालिका तीज । नेपाली त्यसमा पनि बिशेष हिन्दू धर्मावलम्बी महिलाहरूको महत्वपूर्ण चाडको रूपमा मान्ने प्रचलन छ । भाद्र शुक्ल तृतीय तिथीका दिन मनाइने तीज पर्वले महिलाहरूको धर्म र संस्कृती बोकेको छ । आफ्ना पतिको दीर्घायू तथा परिवारजनको सुख शान्ति, समृद्धीको कामना गर्दै महिलाहरू ब्रत बस्ने गर्दछन् ।
यो लेख लेख्न कुनै अर्को एउटा लेखले मलाई प्रेरित गर्यो । मानिसको सोच दुई वटा एउटा सकारात्मक र अर्को नकारात्मक । सबै कुराको सकारात्मक र नकारात्मक दुबै पाटो हुन्छ । तर नकारात्मक कुरा चाहि यति धैरै बाहिर आउँछ जसले सकारात्मक पाटोलाई पूर्णरूपमा ओझेलमा पार्छ ।
यो प्रसङग फेरी पनि नेपाली महिलाहरूको महान पर्व तीजकै हो । यो बिषय उठान गर्न यस्तै एउटा त्यस्तै लेखले प्रेरित गरेको कुरा माथि नै उल्लेख गरिसके । एउटा बिषय अध्ययन गर्न गुगल सर्च गरे । मैले खोजेको सामाग्री भन्दा अगाडी नै एउटा लेखमा नजर पर्यो । राम्ररी अध्ययन गरे । मन खिन्न भयो । रिसपनि उठ्यो । अनि मलाई लाग्यो कुनै पनि कुराको नकारात्मक प्रभाव मात्र हुन्न त्यसको सकरात्मक पक्ष पनि हुन्छ जसलाई बाहिर ल्याउन जरुरी छ ।
त्यो लेखमा लेखिएको थियो–तीज पर्वले बिकृती भित्र्यायो ! महिलाहरू महङ्ग साडी, गरगहना लगाउछन् । अनि एक महिना अघि देखी नाच्छन् । तीज मनाउने शैली भड्किलो र खर्चिलो भो यस्तै–यस्तै धेरै कमजोरी पक्षको मात्र उठान गरिएको थियो । सामुहिक तीज मनाउँदाको फाइदाले कुनै ठाउ पाएको थिएन । के हाम्रो तीजका अवसरमा गरिएका सबै गतिविधि गलत हुन् ?
आफैंमा प्रश्न उठ्यो ? फेरि सोचें अहँ त्यो त होइन । यसका सकारात्मक पाटाहरु थुप्रै छन् । सामुहिक रूपमा मनाउने तीजको फाईदै फाईदा छ । म त्यसरी नै बुझ्छु । अनि सुसंस्कृत पनि छ। तीज बर्षदिनमा मनाइने पर्व हो । हामी महिलाले केहि समय अगाडी देखि मनाउन सुरू गर्छौ । पहिले–पहिलेको तीज मनाउने तरिका र अहिलेको तरिका बदलिएको छ । तीज मात्र हैन बिबाह गर्ने तरिका पनि त फेरिएको छ । उहिले छोरीको बिहे छ÷सात बर्षको उमेरमा गरिदिने चलन थियो । अहिले पढाई–लेखाई सकेर सक्षम हुनुका साथै सबै कुरा छुट्याउन सक्ने भएपछि मात्र छोरीको इच्छा अनुसार बिहे गरिदिने चलन छ । तीज मनाउनै शैली मात्र फेरिएको त हैन ! समयको गतिशिलतासगै धेरै कुरामा परिवर्तन भएको छ र हुनु पनि पर्छ ।
तर हाम्रा सांस्कृतिक पर्वको सार नै मर्ने गरि परिवर्तन हुनु हुदैन । तीज पर्व माईती र चेलीसग जोडिएको छ । पछिल्लो समय सामुहिक दर खाने प्रचलन बढेको छ यसको पनि आफ्नै महत्व छ । यो पर्बले बिभिन्न जात–जाती भाषा–भाषीका सबै महिलाहरूलाई एउटै मालामा उनेको छ । एकै ठाउँ गोलबन्द गरेको छ । एक आपसमा भाइचाराको सम्बन्ध बिकास गरेको छ । प्रेम र सद्भाव कायम गरेको छ ।
यस्ता थुप्रै सकारात्मक पक्ष छन अहिले मनाईने तीज पर्वको, दिदी बैनीहरू बिभिन्न सामाजिक संघ संस्थामा आबद्ध भएका छन अनि तिनै संघ संस्थाको माध्यमबाट तीजको अवसरमा कार्यक्रमको आयोजना गरी आफ्नो नेतृत्व बिकास गरिरहेका छन । सामाजिक, राजनीतिक र आर्थिकरूपमा आफुलाई शसक्त बनाई रहेका छन । तीजकै अवसर पारेर बिभिन्न बिषयमा छलफल चलाउदै दर खाएका छन् । आफुभित्र रहेको क्षमतालाई प्रस्फुटन गराउने एउटा प्लेटफम बनेको छ तीज ।
महिलाहरूका लागि तीज खाने र नाच्ने मात्र नभै आर्थिक रूपमा पनि बलियो बनिरहेको छ । हिजो आज महिलाहरू बिभिन्न उद्योग ब्यापारमा पनि सक्रियतापूर्वक सहभागि बनिरहेका छन । लघु उद्यम संचालन गरिरहेका छन । र तिनै आफुले उत्पादन गरेको बस्तुलाई व्यवसायिकतासंग पनि जोडिइरहेका छन् । हेर्दा सानो भोल्युम देखिएपनि त्यसले दिने उत्प्रेरणा ठूलो उपलब्धी हो । महिलाहरुले सञ्चालन गरेका स–साना व्यवसायबाट उत्पादित बस्तुलाई तीजमा दिने उपहारमा उपयोग गरेर अर्थोपार्जनसंग जोडिरहेका छन् । के यस्ता कार्य पनि नकारात्मक मान्ने ? त्यसो हुँदा तीज पर्व बिकृती भित्र्याउने भन्दा पनि महिलाहरूको सर्वाङ्ंगीण बिकासमा कोसेढुङ्गा साबित बन्दै गएको मेरो बुझाई छ । आफुसंग कस्तो चिज छ र त्यसलाई कसरी प्रयोग गर्नुपर्छ भन्ने कुरा फेरी पनि हामी महिलाले बुझ्ने कुरा हो । तीजपर्वको नाममा कुनै कुनै ठाउँमा महिलाहरूले मादक पदार्थ सेवन गरी पर्वलाई बिकृत बनाएको भिडियो सार्वजनिक नभएको भने पक्कै छैन ।
तर त्यो नगन्य मात्रामा देखिएको छ । नराम्रो थोरै भए पनि सर्बत्र देखिन्छ । राम्रो धेरै भए पनि ओझेलमा परिरहेको हुन्छ । त्यसकारण समयको परिवर्तनसंगै चाडपर्व मनाउने कुरा पनि सामान्य रूपमा परिवर्तन हुन्छ नै तर एउटा संवेदना तपाई हामी सबैमा हुनुपर्छ त्यो हो–नेपालको संस्कृति नै नेपालीहरूको पहिचान भएको हुँदा यसलाई बिकृत रूपमा मनाउने ब्यक्तिहरूलाई सबैले मिलेर बहिस्कार गर्न जरूरी छ । जनआन्दोलन डटकमबाट