वाद र विचार बिर्सेर देशलाई हेर्ने दृष्टि सहि हुनुपर्छ: महाँमन्त्री शर्मा

झापा । नेपाली काङ्ग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले वाद र विचार बिर्सेर देशलाई हेर्ने दृष्टि बिहङ्गम हुने पर्नेमा जोड दिएका छन् । आफ्नो निर्वाचन क्षेत्र झापा १ को बाहुण्डाँगीमा शुक्रबार आयोजित कार्यक्रममा शर्माले भने,” देश विकासका लागि नवीन राष्ट्रवादको जरुरी छ।” भाषण र आदर्शको कुराले राष्ट्रवादी हुन नसकिने बताएका शर्माले राजनीतिलाई नबदली देशमा परिवर्तन नहुने दाबी गरे। ” हामीले नेतृत्वको काँध फेर्न चाहेको हो, त्यसका लागि तयार पनि छौँ ” उनले भने,” नेपाली राजनीतिमा पाको नेतृत्वलाई पालो दिन युवा नेतृत्व हरदम तयार छ।” शर्माले हरेक युवामा आस जगाउन सक्नु पर्ने आवश्यकता औँल्याए। ” देश साझा हो, दल आआफ्नो ठाउँ र भूमिकामा छन्, रहन्छन्” उनले भने,” राजनीतिमा लागेका युवाले सहीलाई सही र गलतलाई गलत भन्न सक्नु पर्छ।” उनले सिंहदरबारको पुरानो सोच र शैली परिवर्तन नभएसम्म मुलुकमा परिवर्तन नहुने जिकिर समेत गरे। ” मुलुकमा प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र आयो, संघीयता पनि छ, तर केही भएन भन्ने आवाज मत्थर भएको छैन, यो वास्तविकता हो” उनले भने,” मुलुक बनाउन सुन्दर सपनाको जरुरी छ, मुलुक बनाउन आवेग होइन, विवेकले काम गर्नु सक्नु पर्छ।

महामन्त्री शर्माले व्यवस्था ठिक र उत्तम भएपनि अवस्था परिवर्तन नहुँदा समस्या ज्यूँकात्यूँ रहेको उल्लेख गरे। उनले डेभलपमेन्ट सहितको डेमोक्रेसी युवाको चाह भएको बताए ।अस्थिरताका बीचबाट देश अहिलेसम्म अघि बढेको बताएका महामन्त्री शर्माले मंसिर ४ को मात्रै नभई १५ वर्षको सपना बोक्न जरुरी भएको धारणा राखे । ” अहिलेसम्म कुनै पनि सरकार ५ वर्ष टिक्न सकेन, जस्तोसुकै परिस्थितिमा पनि संसदबाटै समस्याको हल खोजिनु पर्छ” उनको भने,” सिंहदरबारको भित्ताको रंग होइन, नेतृत्वको सोच परिवर्तन गर्न सक्नु पर्छ, कालो, रातो, हरियो, पहेँलो वा कुनै रङ परिवर्तन गर्दामा केही हुँदैन ।” मुलुकमा ठूल्ठूला परिवर्तन भइसकेको बताएका उनलेे सामाजिक रुपान्तरण र सानासाना कुरामा सुधार जरुरी भएको बताए । राजनीतिक दल र तिनको नेतृत्वको सोचमा परिवर्तन नभएसम्म राजनीति परिवर्तन नहुने बताएका उनलेे चुनावमा हुने हारजीत भन्दा मुलुकले जित्ने वातावरण सिर्जना गर्नु सबैको दायित्व भएको प्रष्ट्याए ।

मुलुकमा पराधिन नभएको तर पराजित भएको दृष्टान्त सुनाएका शर्माले विकासबाट संसारलाई जित्न बाँकी रहेको बताए । उनको आफूआफू बीचको प्रतिस्पर्धा होइन अरुसँग प्रतिस्पर्धा गर्न सक्नु पर्ने खाँचो औँल्याए। ” आपसी प्रतिस्पर्धा गौण हो, चुनाव आउँछ, एउटाले जित्छ, अर्कोले हार्छ, कसैको नेतृत्वमा सरकार बन्नु र परिवर्तन हुनु ठूलो कुरा होइन” उनले भने,” विकासका लागि अरुसँग प्रतिस्पर्धा जरुरी छ, कहिल्यै नहारेका वीर गोर्खाली हौँ भनेर मात्रै कसैलाई जितिदैन।” मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो निर्वाचन क्षेत्रबाट सर्वसम्मत नाम सिफारिस भएपछि पहिलो पटक आयोजित सभालाई सम्बोधन गरेका महामन्त्री शर्माले सम्बोधनको अधिकांश समय चुनावी भाषणमा भन्दा देश विकास र समाज रुपान्तरणमा खर्चेका थिए।