ओलीकाे गृहजिल्लामै उम्मेद्वार चयनमा सकस: कार्की सिफारिस भएनन्, दुर्गा प्रसाईं फन्किएर हिँडे

४ मंसिरको प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि नेपाल कम्युनिस्ट पार्टी (एमाले) झापाले जिल्लाका पाँचवटै निर्वाचन क्षेत्रका लागि उम्मेदवार सिफारिस गरेको छ ।

नेकपा एमाले झापा जिल्ला कमिटीले सोमबार नै निर्वाचन क्षेत्र–१ बाट रविन कोइरला र ५ बाट पार्टी अध्यक्ष केपी ओलीको नाम सिफारिस गरेकाे छ । यी दुवै क्षेत्रमा अरुको नाम नपरेपछि उनीहरू सर्वसम्मत सिफारिस भएको एमाले झापा जिल्ला कमिटीले जानकारी दिएको छ ।

तीनवटा क्षेत्रमा आकांक्षी धेरै भएपछि सर्वसम्मत नाम सिफारिस भएन । सोमबार ओलीको गृहजिल्लामै नाम सिफारिसमा पर्न नेताहरूले तँछाडमछाड गरेको देखियो । पार्टी अध्यक्ष दीपक कार्की उम्मेदवारको नाम सिफारिसको बैठकमा गएनन् भने, कतिपय नेताहरूले बीचैमा बैठक छाडेर हिँडे ।

को–को कहाँबाट सिफारिस ?

झापा– २ मा चार जनाको नाम सिफारिस भएको छ । पार्टीका स्थायी कमिटी सदस्य देवराज घिमिरे र अग्नि खरेल, निर्वाचन आयोग सदस्य पवित्रा निरौला खरेल र जिल्ला सदस्य ध्रुवकुमार शिवाकोटीको नाम सिफारिस भएकाे जिल्ला कमिटीले जानकारी दिएको छ । यो निर्वाचन क्षेत्रमा घिमिरे र खरेल टिकट लिन प्रतिस्पर्धामा छन् ।

घिमिरे सिनियरका साथै अध्यक्ष ओलीनिटक भएर लामो समय काम गरेका नेता हुन् भने खरेल पनि ओलीनिटक नेता हुन् ।

त्यस्तै, झापा–३ मा पार्टीका केन्द्रीय सदस्य दुर्गा प्रसाईंसहित मोहनचन्द्र रेग्मी, हरि घिमिरे, लोकनाथ भट्टराई र रविना ढकालको नाम सिफारिस भएको छ ।

केन्द्रीय सदस्य प्रसाईंं सोमबार आफ्नो मात्र नाम सिफारिस हुनुपर्ने दाबी गर्दै झापा–३ को एमाले क्षेत्रीय कमिटी कार्यालय पुगेका थिए । तर, अरु चार जनाको नाम उम्मेदवारीका लागि सिफारिस भएपछि उनी बैठक नै छाडेर हिँडेका थिए ।

दलबलसहित आफ्नाे मात्र नाम सिफारिस गराउन पुगेका प्रसाईं उनकाे नाममा सर्वसहमति  नभएपछि रिसाउँदै बीचैमा बैठक छाडेर हिँडेको एमालेका झापाकै एक नेताले जानकारी दिए । उनी गत वर्ष मात्र माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेका थिए । उनी एमाले अध्यक्ष ओलीलाई ‘हजुरबा’ भन्दै सम्बोधन गर्छन् । प्रसाईं मेडिकल व्यवसायी पनि हुन् ।

यस्तै, झापा–४  मा लालप्रसाद साँवा, (एलपी), मोहनप्रसाद गौतम, भोजकुमारी नेपाल, हीराकुमार थापा र चन्द्रकुमार शेर्माको नाम सिफारिस भएको छ । पार्टीका प्रदेश सदस्य साँवा प्रतिनिधिसभा सदस्य हुन्  भने, थापा प्रदेश नम्बर १ का पूर्वकृषि मन्त्री हुन् ।

यो निर्वाचन क्षेत्रमा पाँच जनाको सिफारिस भए पनि साँवाले आफ्नो मात्र नाम सर्वसम्मत भएको हस्ताक्षर गरेको हस्तलिखित सिफारिस तयार पारेर पठाएका थिए ।

जिल्ला कमिटी सचिव शिव ढुङ्गेलका अनुसार सहमतिका लागि छलफल भइरहेको छ ।

झापा–४ बाट जिल्ला कमिटी अध्यक्ष दिपक कार्कीले उम्मेदवारी दिने चर्चा भएको थियो । तर, अन्तिममा उनको नामसमेत सिफारिसमा नपरेपछि उनी रुष्ट भएको एमालेका नेताहरूले बताएका छन् । तर, अध्यक्ष कार्कीले भने आफूले संघको टिकटका लागि लबिङ र दाबी नगरेको बताएका छन् ।

प्रदेशसभामा  

झापा १ को (क) मा नीलकण्ठ तिवारी, राजु कार्की, देवकुमार राई, बन्धन मुण्डा शान्तिप्रसाद सापकोटा, रमा भण्डारी, चन्द्र प्रसाईंं, कृष्ण कनाल, रामचन्द्र उप्रेती, राम ओली, शोभा खवास, इन्द्र बाँस्कोटा, मोहनप्रसाद ओली, भूपाल ओली, निर्मला गौतम, विष्णु सुवेदी, राजु पोखरेल र प्रेमकुमारी भट्टराईको को नाम सिफारिस भएको छ ।

सोही क्षेत्रको (ख) मा रेणुका डाँगी, घनश्याम अधिकारी, लता प्रसाईंं, लक्ष्मी राई, रमेश आचार्य, पुरुषोत्तम अधिकारी, यम बराल र हरि घिमिरेको नाम सिफारिस भएकाे जिल्ला कमिटीले जनाएको छ ।

झापा–२ (क) मा बद्री भट्टराई, एकराज कार्की, रोमणि भट्टराई, चन्द्रा सेढाईको नाम सिफारिस भएको छ । भने, (ख) मा हरि राना, चिन्तन पाठक, रोहितमान ढकाल र देवीमाया भट्टराईको नाम सिफारिस भएको छ ।

झापा– (क र ख) मा हरि तिम्सिना, बसन्त बानियाँ, छवि चुडाल, चन्द्रमाया श्रेष्ठ, धनकेशर बस्नेत, लक्ष्मण पाठक, हरि राजवंशी, सोम पोर्तेल जीवन श्रेष्ठ र ललिता बस्नेतको नाम सिफारिस भएको जिल्ला कमिटीले जनाएको छ ।

झापा ४ –(क) मा राधाकृष्ण खनाल, तुलसी मैनाली, केहरसिंह भट्टराई, भरतइन्द्र बस्नेत, कृष्णकुमार भट्टराई, राजीव घिमिरे र भैरव श्रेष्ठको नाम सिफारिस भएको छ ।

(ख) मा गोकर्ण ओझा, मनोज ताम्लिङ,  खेम मिश्र, तुलाराम बस्नेत, कमल कट्टेल, कृष्णप्रसाद खतिवडा, विनोद राना मगर, गजेन्द्र ताम्लिङ, डम्बर अधिकारी, लक्ष्मीनारायण खनाल (विशाल), पुष्प सापकोटा, मिलन कट्टेल, ओम पाठक र रवीन्द्र लम्साल नाम सिफारिस भएको जिल्ला किमिटले जानकारी दिएको छ ।

झापा – ५ (क) मा हिक्मतकुमार कार्की, अम्बर शिवाकोटी, मदनप्रसाद अधिकारी, शारदा पराजुली, गेहनाथ पौडेल, योगराज दाहाल र केदार ढुंगानाको नाम सिफारिस भएको छ ।

(ख) मा अर्जुन राई, इन्द्र भण्डारी,  होमबहादुर थापा, लीला ढुंगेल दाहाल, नर्वदा गौतम, नारायण गौतम, उर्मिला ओली, बोधप्रसाद घिमिरे, बलराम गजुरेल र कुमार साम्सुहाङको नाम सिफारिस भएको जिल्ला कमिटिले जानकारी दिएको छ ।

एमालेका अध्यक्ष ओलीकै गृहजिल्ला झापामा केन्द्रीय नेताहरू दुई धारा छुटिएका छन् । ४ मंसिरको निर्वाचनमा नजिकिँदै गर्दा अहिले झापा जिल्लामा एमाले अध्यक्ष ओलीनिटक नेताहरूभित्र चरम गुटबन्दी देखिन थालेकाे छ ।