कांग्रेसबारे रामवरणको टिप्पणी, ‘जनतामा जान पनि अरु पार्टीसँग अंशबन्डा?

भदौ २३ , काठमाडौँ

पूर्व राष्ट्रपति डा. रामवरण यादवले नेपाली कांग्रेसले जनताबीच जान पनि अंशबन्डा गरिरहेको भन्दै चिन्ता जनाएका छन्।

बिहीवार काठमाडौंमा आयोजित बीपी साहित्य सम्मान एवम् बीपी सेनानी सम्मान तथा स्मृति लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

यादवले नेपाली कांग्रेसको अहिलेको अवस्थालाई हेर्दा राम राम भन्नु शिवाय अरु नरहेको पनि उल्लेख गरे।

बीपीका राजनीतिक चिन्तनहरू अध्ययन गर्ने फुर्सद कुनै राजीनितक कार्यकर्ता र नेताहरुलाई नरहेको भन्दै टिकट किनेर पार्टीमा प्रवेश गर्ने गरेको बताए।

यादवले कांग्रेस पार्टीमा रहेर पसिना बगाउन भन्दा पैसा दिएर टिकट किन्नेको मूल्यांकन बढी हुँदै गइरहेको पनि बताए।

उनले समानुपातिकबाट सांसद बन्नको लागि टिकट बिक्रीको चलखेल हुने गरेको पनि बताए।

पूर्व राष्ट्रपति यादवले स्थानीय निर्वाचनमा वडा र पालिकाहरुमा टिकट बिक्री भएको दाबी गर्दै पार्टीमा विधि र आदर्शको पालना र सम्मान हुन छोडेकोमा चिन्ता जनाए।

उनले पुर्खालाई बिर्सिएर जनतामा जान अरु पार्टीसँग मिलेर अंशबन्डा गर्नु कांग्रेसका लागि लज्जाको विषय भएको बताए।

‘कांग्रेसीले बीपीले उहाँको बेलामा जति महाधिवेशनहरुमा बोल्नुभएको छ, त्यो महत्वपूर्ण छ। बिपीको जेल डायरी,बिपीको आत्मवृतान्त, बीपीले बोलेका राजनीतिका बारेमा विषयहरु कांग्रेसीलाई पढ्न फुर्सद छैन’, उनले भने, ‘सोझै कांग्रेस छिर्छन्। किनकी टिकट किन्नेलाई कांग्रेसी भनेको छ, कति वर्ष भइसकेको छ, कांग्रेसीमा लागेकालाई फुर्सद नै छैन। पैसामा टिकट बेचिरहेको छ। सुन्नुभएको होला तपाईहरुले समानुपातिकमा टिकट बिक्री भएको छ। वडाको टिकट बिक्री भएको छ। पालिकाको टिकट बिक्री भएको छ।’

उनले अहिले विधि र आदर्शबारे कुरा गर्नै छोडिसकेको बताए। ‘बिपी, गणेशमान,किसुनजी, गिरिजा जस्ता महापुरुषको नाम सुन्दै गदगद हुन्छ, तर अहिले देशको अवस्था कस्तो छ?’, उनले सोधे, ‘बीपीको एक गुण पनि हामीमा छैन। कांग्रेसीमा त हुनैपर्ने हो। हामी कोहीमा छैन। कांग्रेसी त्यस्तो पुर्खा भएर पनि अहिले अंशबन्डा गरिरहेका छौँ हामी। जनताबीच जान पनि अरु पार्टीसँग मिलेर अंशबन्डा गरिरहेको छ। राम,राम,राम!’

उनले कांग्रेसबारे राम, राम भन्ने बेला भइसकेको बताए।