अझै सञ्चालनमा आएन काँकरभिट्टा बसपार्क

मेचीनगर । मेचीनगरको काँकरभिट्टा बस टर्मिनलको सवारी चापलाई व्यवस्थित गर्न मेचीनगर–७ को प्यारिभिट्टामा निर्माण गरिएको पूर्वाधारयुक्त बसपार्क प्रयोगविहीन भएको छ ।
पूर्वीद्वार काँकरभिट्टाबाट करिब एक किलोमिटर पश्चिमतर्फ राजमार्गकै छेउमा वि.सं. २०७० सालमा निर्माण भएको बसपार्क नौ वर्षदेखि सञ्चालनमा आउन सकेको छैन । सो बसपार्कमा सुरक्षा बन्दोबस्तका लागि आवास भवनसहितको प्रहरी पोस्ट पनि बसपार्कमा निर्माण गरिएको छ । रात्रिकालीन उज्यालोका लागि विद्युत र सौर्य बत्तीको पर्याप्त व्यवस्था मिलाइएको छ । राजमार्गबाट बसपार्क जोड्ने पहुँचमार्गलाई कालोपत्रे गरिएको छ । खानेपानी र शौचालयका लागि भौतिक संरचना बनाइएका छन् । तर, बसपार्क नै सञ्चालनमा नआएपछि ती संरचना सबै बेकार सावित भइरहेका छन् ।
भारत, भूटान र बंगलादेशसँगको व्यापारिक नाका काँकरभिट्टा पर्यटक भित्रिने प्रवेशमार्ग हो । जहाँबाट लामो र छोटो दूरीका दैनिक पाँच सय बसहरु सञ्चालन हुँदै आएका छन् । बजारको बीचमै रहेको दुई दशक पुरानो बस टर्मिनल अहिले साँघुरो भइसकेको हुँदा बसको पार्किङ र यात्रुको व्यवस्थापन सकसपूर्ण हुने गरेको छ । मेचीनगर नगरपालिकाले आन्तरिक स्रोतबाट रु. तीन करोड ३६ लाख २८ हजार र नगर विकास कोषको ऋणबाट रु. सात करोड ७७ लाख ७२ हजार जुटाएर संयुक्त लगानीमा प्यारिभिट्टा बसपार्क निर्माण गरेको थियो । बसपार्क बनाउन स्थानीय शिवकुमार थापा, ध्रुव शिवाकोटी लगायत १२ जनाले करौडौँ मूल्य बराबरको पाँच विगाहा चार कठ्ठा जग्गा नगरपालिकालाई निःशुल्क प्रदान गरेका थिए । वि.सं. २०६८ असार १९ गतेबाट शिलान्यास कार्यक्रम नगरी दमकको लामा मैनाचुली शिवशक्ति जेभीले बसपार्कको निर्माण कार्य थालनी गरेको थियो । दुई वर्षपछि निर्माण सम्पन्न सो बसपार्कको औपचारिक उद्घाटन भने २०७४ भदौ १५ गते मेचीनगर नगर प्रमुख विमल आचार्य र संस्थापक नगर प्रमुख रविन कोइरालाले संयुक्त रुपमा गरेका थिए । बसपार्क निर्माणमा पहल गरेका तत्कालीन नगर प्रमुख विमल आचार्यले बसपार्क सञ्चालनमा खोजी नीति नगर्नु अचम्म लागेको बताए । उनले यातायात कार्यविधि बनाएर बसपार्क सञ्चालन गर्न सकिने बताए । त्यसका लागि नगरपालिकाले सक्रियता देखाउनु पर्ने बताए ।
मेचीनगरकै ठूलो विकासे परियोजनाको रुपमा मानिएको प्यारिभिट्टा बसपार्क निर्माण भइसकेपछि दुई कार्यकाल जनप्रतिनिधिले नगरको नेतृत्व गरिसकेका छन् । निवर्तमान नगरप्रमुख बिमल आचार्यले बसपार्क सञ्चालनमा ल्याउन निकै पहल गरेका थिए । केही महिना चलाउने प्रयास गरियो । बसपार्कमा बसहरुलाई पार्किङ गर्न आग्रह गरियो भने त्यहाँ रहेका गाडी ग्यारेज र व्यापारिक पसलहरु भाडामा लगाइएका थिए । बसपार्कलाई पूर्वाधारयुक्त बनाउन नगरपालिकाले धेरै संरचना निर्माण गरिसकेको छ । वरिपरि पर्खाल निर्माण गरिएको छ भने उत्तरतिर दुई दर्जन जति पसल कोठाको निर्माण गरिएका छन् । पूर्वी किनारमा एक दर्जनभन्दा बढी सर्भिस सेन्टर (ग्यारेज) का लागि कोठाहरु निर्माण गरिएका छन् । व्यापारिक पसल र ग्यारेजहरु निजी क्षेत्रलाई भाडामा दिने नगरपालिकाको योजना थियो ।