बिर्तामोडमा ‘गुणस्तरहीन’ अटो दिएर २३ जना बढीलाई ठगी

झापा । झापाको बिर्तामोडस्थित नेपाल ट्रेड कन्सर्नले गुणस्तरहीन अटो दिएर ठगी गरेको पीडितहरुले आरोप लगाएका छन् ।

अटो खरीदकर्ताहरुले मंगलबार बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरी कन्सर्नले पियाजिओ कम्पनीको अटो दिने भन्दै गुणस्तरीयहीन अटो दिएर ठगी गरेको आरोप लगाएका हुन् ।

बिर्तामोड–४ का दुर्गाप्रसाद सुवेदीले कन्र्सनले ‘पियाजिओ’ कम्पनीको अटो दिने भनेर आफूबाट रू एक लाख ८२ हजार बैना लिएर एक सातापछि ‘टुकटुक’ ब्राण्डको अटो दिएको बताए ।

“अर्कैले फिर्ता गरेको अटो आफूलाई बिक्री गरेको पछिमात्र थाहा पाएँ”, उनले भने, “सहकारी मार्फत् फाइनान्स गराइदिएर शोरुमले थप चार लाख रुपैयाँ लग्यो, भर्खरै किनेको अटोमा धान्नै नसक्ने गरी खर्च हुन थालेपछि शोरुमलाई जिम्मा लगाएँ ।” लामो समय बितिसक्दा पनि कन्र्सनले आफ्नो समस्या समाधान नगरेकाले उहाँको भनाइ छ ।

सुवेदीको जस्तै समस्या छ– हल्दिबारी–२ का किरण आचार्य । बजाज कम्पनीको अटो दिने भनेर रू एक लाख ८० हजार लिएको तर पछि त्यो भन्दा राम्रो भनेर टुकटुक कम्पनीको अटो दिएको आचार्यले बताउनुभयो । “अटो घर पुर्याएर केही बेरमा स्टार्ट गर्न खोज्दा भएन”, उहाँले भन्नुभयो, “छिमेकीलाई बोलाएर हेर्दा ट्यांकी चुहिएको र पेट्रोल सकिएर स्टार्ट नभएको पाएँ ।”

किस्ताबन्दीमा सहकारीमार्फत् किनेको अटो बिग्रिएर हैरान बनाएपछि सहकारीलाई नै जिम्मा लगाएको उहाँको भनाइ छ । सहकारीमा रू एक लाख किस्ता तिरेका उहाँले सहकारीले ऋण तिर्न ताकेता गर्दा मात्र आफ्नो ऋण बाँकी रहेको थाहा पाएको आचार्यको भनाइ छ ।

यस्तै, बिर्तामोड–३ का सतिस साहले चलाउँदै गरेको सिटी सफारी, रू एक लाख ७० हजार नगद र सहकारीबाट ऋण लिएर किनेको अटो भोलिपल्टै बिग्रेको र कुदाउँदा कुदाउँदै १५ दिनपछि चेसिस भाँचिएर दुर्घटना भएको सुनाउनुभयो । “घाइतेको उपचार खर्च समेत ऋण गरेर तिरेँ”, उहाँले भन्नुभयो, “दोस्रो पटक पनि चेसिस भाँचिएपछि किनेको तीन महिनापछि नै शोरुमलाई अटो जिम्मा लगाएँ, तर शोरुमले अहिलेसम्म पैसा फिर्ता गरेको छैन ।”

उहाँहरुजस्तै, कचनकवल–१ का शिवनन्द राजवंशी, शिवसताक्षी–१० की गंगादेवी बुढाथोकी, अर्जुनधारा–१ की निराकुमारी खड्का र बिर्तामोड–८ की दीपा ढुंगेलको समस्या छ । पीडितहरुले शोरुमले गुणस्तरहीन अटो झुक्याएर बिक्री गरेका कारण पैसा फिर्ता गर्नुपर्ने माग राखेका छन् । कन्र्सनबाट २३ जनाभन्दा बढीलाई पीडित बनेका छन् ।

यता, शोरुम सञ्चालक सुरेश साहले भने पीडितहरुले भने जस्तो अटो गुणस्तरहीन नभएको बताउनुभयो । टुकटुक भारतीय ब्राण्डको भएको र बिर्तामोडको सडकमा अहिले पनि सञ्चालनमा रहेको उहाँको भनाइ छ ।

मेसिनरी सामान पुरानो हुँदै जाँदा सामान्य समस्या आउने उहाँको भनाइ छ । केही वर्षअघि शोरुममा आगलागि भएपछि बन्दका भएको छ भने तत्कालीन नेपाल ट्रेड कन्सर्न रहेको स्थानमा साहले बीएस मार्ट सञ्चालन गर्दै आउनुभएको छ । सुरेश साह र उमेश साहले उक्त शोरुम सञ्चालन गर्दै आएका थिए ।