काँकरभिट्टा प्रहरी कार्यालयको सेवा नयाँ भवनबाट सुरु

काँकरभिट्टा । पूर्वी नाका काँकरभिट्टाको सुरक्षामा खटिएका प्रहरीका लागि भौतिक पूर्वाधारयुक्त आधुनिक भवन बनेको छ । पुरानो भवनबाट काम कारवाही हुँदै आएका प्रहरी कार्यालयले अब नयाँ भवनबाट सेवा सुरु गर्नेछ ।
इलाका प्रहरी कार्यालय काँकरभिट्टाले ४२ वर्षपछि सुविधा सम्पन्न नयाँ भवन प्राप्त गरेको हो । १ नम्बर प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयको बजेटबाट ३ करोड ६२ लाख ४५ हजार ४ सय ५ रुपैयाँ भए पनि २ करोड ८३ लाख ३४ हजार ६ सय ४१ रुपैयाँको लागमा नवनिर्मित भवनको शुक्रबार १ नम्बर प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले उद्घाटन गरेका छन् । मन्त्री कार्कीले नेपाल–भारत सीमावर्ती क्षेत्रमा हुने चोरी, तस्करी, रोकथाम नियन्त्रण गर्नु सुरक्षाकर्मीको मुख्यः दायित्व र जिम्मेवारी रहेको बताए । चौबिसै घण्टा जनताको सुरक्षामा खटिने प्रहरीका लागि सुविधा सम्पन्न भवन हुनुले थप कार्य सम्पादनमा सहयोग पुगेको बताए ।
प्रहरी नायव उपरीक्षक ज्ञानकुमार महतोले सञ्चालन गरेको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा तत्कालीन चौकी स्थापनाकालमा खटिएका ८६ वर्षीय पूर्व प्रहरी हवल्दार वृखबहादुर गुरुङलाई सम्मान गरिएको थियो । सोही अवसरमा पूर्व प्रहरीका विभिन्न पदका व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी छवि रिजाल, मेचीनगर नगर प्रमुख गोपालचन्द्र बुढाथोकी लगायतले अहिले पनि यस कार्यालयमा निक्कै काम बाँकी रहेकाले यसलाई पूर्णता गरिदिन मन्त्री समक्ष आग्रह गरे ।
कार्यक्रममा संविधान सभा सदस्य रविन कोइराला, १ नम्बर प्रदेशसभा सदस्यहरु श्रीप्रसाद मैनाली, राधा थापा, प्रदेश १ का प्रहरी प्रमुख डीआइजी सुदिप गिरी, मेचीनगर उपप्रमुख मीना पोखरेल उप्रेती, निवर्तमान नगर प्रमुख विमल आचार्य, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य सुभद्रा आर्याल, तत्कालीन प्रहरी भवन निर्माण समितिका अध्यक्ष कृष्णप्रसाद उप्रेती लगायतको आतिथ्यता रहेको थियो ।

f