के डेंगु फेरि लाग्छ, डा.साब ?

एक डेंगु संक्रमित बिरामीले आफ्नो उपचार सकिँदै गर्दा सोधिएको प्रश्न थियो। तर यो प्रश्न लेखकलाई बिरामीको सेवामा रहदै गर्दा धेरैले र अत्यधिक मात्रामा सोधिने प्रश्नमध्येमा पर्छ ।

डेंगुको पीडा अत्यधिक कडा हुने र ज्वरोको उतारचढावले थकित हुँदा बिरामीको मनमा यस्तो प्रश्न आउनु स्वभाविक पनि हो।

डेन-१, डेन-२,डेन-३ र डेन-४ गरी डेंगुका चार प्रकार (सेरोटाइप) हुन्छन्। सामान्यतय एक समय अवधि र ठाउँमा कुनै एक सेरोटाइप मात्र हाबी हुने गर्दछ। जस्तै सन् २०१९ मा देखिएको डेंगु महामारीमा डेन-२ सेरोटाइप हाबी भएको अनुसन्धानबाट देखिन्छ।

यदि अहिलेको सेरोटाइप डेन-२ भन्दा फरक भए यो महामारीमा सन् २०१९ मा संक्रमित भएका मानिस पुनः संक्रमित भए उनमा झन् कडा लक्षण देखिन सक्छ ।

सन् २०१९ मा देखिएको डेंगु महामारीमा भन्दा अहिलेको संक्रमितहरुमा कडा लक्षण देखिएकाले सेरोटाइप बदलिएको आकलन गर्न सकिन्छ । यद्यपि अनुसन्धान वा परीक्षणबाट पुष्टि भने हुनु जरुरी हुन्छ। तर अहिले र अघिल्लो महामारीमा देखिएको सेरोटाइप एकै हो वा हुन गए र कुनै व्यक्ति पुनः संक्रमित भए स्वास्थ्यमा जटिलता देखिने छैन। यसर्थ जीवनमा चार पटकसम्म डेंगु संक्रमण हुन सक्छ भन्ने गरिन्छ ।

एक सेरोटाइपबाट संक्रमित भएर अर्को सेरोटाइपले पुनः संक्रमित भए लक्षण कडा हुने हुदा धेरै डेंगु बिरामीहरु फेरि संक्रमित भइन्छ कि भन्ने भयमा रहेको देखिन्छ। संक्रमित भइसकेकाले डेंगु ‘शत्रुलाई पनि नलागोस्’ भन्ने उद्‍गारबाट पनि डेंगु संक्रमणको कडापन र यसको प्रभावले पारेको शारीरिक शिथिलता र कमजोर अवस्थाको अनुमान गर्न सकिन्छ।

विश्व प्रशिद्ध जर्नल ‘नेचर’ मा प्रकाशित अनुसन्धानमा जनाइए अनुसार जुनसुकै सेरोटाइपले संक्रमण गरेको भए पनि २ देखि ३ महिनासम्म फरक सेरोटाइपले पुनःसंक्रमण गर्न सक्दैन। तर तीन महिनापछि पुनः र फरक सेरोटाइपले संक्रमण गरेमा संक्रमित व्यक्तिमा लक्षणहरु पहिलेको भन्दा थप कडा देखिन सक्नेछ ।

छोटकरीमा भन्नुपर्दा, अहिले संक्रमित भएकाहरुलाई अर्को लामखुट्टेको सिजन (अर्को बर्षको मनसुन तथा पोस्ट मनसुन) मा मात्र पुनः र फरक सेरोटाइपले संक्रमण गर्न सक्नेछ र यसो भएमा संक्रमितमा पहिले संक्रमणमा देखिएको भन्दा कडा लक्षण देखिन सक्नेछ।

नेपालमा डेंगुका चारै सेरोटाइपहरु पुष्टि भइसकेको अवस्थामा डेंगु देखिन सुरु हुनेबित्तिकै सेरोटाइप पत्ता लगाएर (विगतमा भन्दा फरक सेरोटाइप भए) कडा लक्षण देखिन सक्ने अवस्थाको विश्लेषण गर्दै त्यही अनुरुप अस्पतालहरुलाई तयारी अवस्थामा राख्न सकिने छ।

हालै एक चिकित्सक मित्रले आफू डेंगु संक्रमणबाट मुक्त त भएको तर नियमित काममा फर्केपछि पहिले जस्तो सक्रिय हुन नसकेको भनेका थिए। कोभिड-१९ को लहरमा धेरै संक्रमितहरु संक्रमणमुक्त भइसक्दा पनि विभिन्न स्वास्थ्य समस्याबाट ग्रसित भएका थिए। जसलाई ‘पोष्ट कोभिड’ समस्या भनेका थियौं ।

हाल डेंगु संक्रमितहरुमा पनि ‘पोस्ट डेंगु’ का समस्याहरु देखिन थालेका छन् । लेखकले उपचार गरेका सयौं बिरामीहरुले आफूहरु संक्रमण मुक्त भएर नियमित काम फर्केको तर पहिले जस्तो जागर र सक्रियता देखाउन नसकेको बताएका छन्।

डेंगु संक्रमणमुक्त भएकाहरुमा अत्यन्तै थकित र कमजोर हुने समस्या देखिएका छन् । त्यस्तै काममा पनि केन्द्रित हुन नसकेको पाइएको छ । यस्ता समस्याहरु अरु देशहरुमा पनि देखिएका विभिन्न अनुसन्धानहरुले देखाउँदछ। तर ‘पोष्ट कोभिड’ मा जस्तो ‘पोस्ट डेंगु’ मा स्वास्थ्य समस्या लामो समयसम्म रहेको देखिदैन । सन् २०१९ को डेंगु महामारीमा लेखकले संक्रमितहरुबाट भने यस्ता सिकायत खासै सुनेको वा अनुभव गरेको थिएन।

अन्तमा, हाल डेंगुको लहर उत्कर्ष तर स्थिर अवस्थामा रहेको छ। लेखकले बिरामीसंग अन्तर्क्रिया गर्दा परिवारका लगभग सबैजसो सदस्यहरु एक पछि गर्दै संक्रमित हुँदै गएको पाएको थियो। डेंगु फैलाउने लामखुट्टे विरुद्धको प्रतिकार्य निराशाजनक हुँदा आगामी दिनहरुमा थप परिवारहरु संक्रमित हुने सम्भावना प्रबल देखिन्छ।

डेंगु अत्यन्त पीडादायक र ज्वरोको उतारचढावले बिरामी अतिनै थिलथिलो हुने हुनाले संक्रमणमुक्त हुने बित्तिकै ‘डेंगु फेरि लाग्ने पो हो कि’ भन्ने प्रश्न संक्रमितमाझ मुख्य चासोको बिषय बनेको देखिन्छ।

डेंगु निको भइसकेपछिको दुई/तीन महिनासम्म पुनः संक्रमित हुने सम्भावना हुँदैन, त्यसपछि अर्थात् अर्को लामखुट्टे (एडिस जातको) देखिने सिजनमा भने फरक सेरोटाइपले संक्रमण गरे पहिलेको भन्दा लक्षण कडा हुन सक्नेछ। तसर्थ आगामी बर्षहरु नेपालको लागि डेंगु नया स्वास्थ्य चुनौतीको रुपमा खडा हुने प्रष्ट देखिन्छ।

लेखक शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिटका संयोजक हुन् । अनलाइनखदरबाट