झापाका ३ क्षेत्रमा काँग्रेस, २ क्षेत्र माओवादीले लिने सहमति

झापा । झापाका पाँच निर्वाचन क्षेत्रमध्ये तीनवटा निर्वाचन क्षेत्र नेपाली काँग्रेसले लिएको छ भने दुईवटा निर्वाचन क्षेत्र नेकपा माओवादी केन्द्रको भागमा परेको छ ।
सत्ता समीकरणका लागि गठबन्धन दलहरूबीच बसेको बैठकबाट झापाको १, ३ र ४ नम्वर क्षेत्र नेपाली काँग्रेसले र २ र ५ नम्वर निर्वाचन क्षेत्र माओवादीको भागमा परेको हो । आगामी मंसीर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि सिट बाँडफाँटका विषयमा सत्तारुढ दलहरुबीच भएको छलफलमा यस्तो सहमति भएको हो ।
सिट बाँडफाँटको टुंगो लागेसँगै झापा क्षेत्र नम्वर १ मा नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, ३ मा पार्टीका पूर्ब महामन्त्री कृष्णप्रसाद सिटौला र ४ मा जिल्ला सभापति देउकुमार थेवेले टिकट पाउने निश्चित भएको छ । किनकी तीन वटै निर्वाचन क्षेत्रका लागि उम्मेद्वारको नाम सिफारिस गर्दा नेपाली काँग्रेस झापाले एक÷एक जनाको मात्रै नाम सिफारिस गरेको थियो ।
यता, झापा क्षेत्र नम्वर २ मा एकीकृत नेकपा माओवादीले उम्मेद्वारको नाम टुंग्याउन सकेको छैन भने झापा क्षेत्र नम्वर ५ मा रञ्जित तामाङ उम्मेद्वार हुने भएका छन् । उनी पार्टीका केन्द्रीय कमिटी सदस्य हुन् ।
झापा क्षेत्र नम्वर २ मा पूर्व सञ्चारमन्त्री तथा २०७४ सालमा निर्वाचित प्रतिनिधिसभा सदस्य सुरेन्द्र कार्की र पूर्वराज्यमन्त्री तथा नेकपा माओवादी केन्द्रकी पोलिटब्युरो सदस्य धर्मशीला चापागाईको नाम चर्चामा छ । सिट बाँडफाँटका क्रममा झापा क्षेत्र नं. १ मा नेपाली काँग्रेसको भागमा परेपछि राम कार्कीलाई क्षेत्र नं. २ बाट उठाउने तयारी गरिएको हो । यसअघि कार्की झापा १ बाटै सिफारिस भएका थिए ।