देवकाेटा चुराेट तान्दै पैसाकाे भारी बाेकेर आइरहेका थिए‍, अनि मैले साेधेँ- ओहो के हो यस्तो !

– सत्यमाेहन जाेशी
मैले तीनपटक मदन पुरस्कार ग्रहण गरे ।

नेपाली लेखन क्षेत्रको यो शिखर विभूषण कालान्तरमा एक पटकभन्दा बढी कसैलाई नदिने घोषणा यस पुरस्कारको गुठीले गरिसकेको छ । यस हिसाबले अब मेरा कृतिहरूले मलाई दिलाएको तीनपटक मदन पुरस्कार विजेता अलङ्कर सदासर्वदाका निम्ति अद्वितीय बनिसकेको छ ।

श्री ३ चन्द्रशमशेरका छोरा मदनशमशेरको २०१० सालमा बनारस रहँदै निधन भएको थियो । उनको स्मृतिमै त्यसको दुई वर्षपछि यो पुरस्कार स्थापना गरियो । यसरी स्थापित पहिलो पटककै अर्थात् २०१३ सालको मदन पुरस्कार मेरो पुस्तक हाम्रो लोक संस्कृतिले प्राप्त गरेको थियो ।

२०१४ सालमा पहिलो मदन पुरस्कार वितरण समारोह आयोजित श्रीदरबार टोलको दृश्य म अहिले पनि झलझली सम्झन्छु । त्यस दिन म निर्धारित समयमै ललितपुरस्थित लेफ्टिनेन्ट जर्नेल मदनशमशेरको दरबारमा उपस्थित भएको थिएँ । त्यतिबेला बाहिर जुत्ता फुकालेपछि हामी सबैलाई मदनशमशेरको सोझो बैठक कोठामा प्रवेश गराइएको थियो । त्यो बैठक रातो बङ्गलामा थियो, जहाँ अहिले रातो बङ्गला स्कुलको कमलमणि थिएटरसहितको भवन ठडिएको छ ।

पुरस्कार लिने बेलामा मलाई एकातिर पण्डितराज सोमनाथ सिग्द्यालले पाखुरा समातेका थिए भने अर्कोतिर कवि शिरोमणि लेखनाथ पौड्यालले । सोमनाथ कोट लगाउँथेनन् । पटुका बौध्ये र एकातिरको बर्को यसो मास्तिर लगेका हुन्थे । कवि शिरोमणिको पहिरन त उही कालो लामो कोट नै थियो । पुरस्कार लिनका निम्ति त्यसरी मलाई रानी जगदम्बाको अगाडि लगियो । त्यसपछि मेरा पाखुरा समातेका दुवै व्यक्तित्वले रानीका अघिल्तिर बिन्ती चढाउँदै मेरो परिचय गराए, ‘यस वर्षको सबैभन्दा पहिले मदन पुरस्कार पाउने सत्यमोहन जोशी भनेका यिनै हुन् ।’

त्यो पहिलो मदन पुरस्कार मलगायत तीन जनाले प्राप्त गरेका थियौ चित्तरञ्जन नेपालीले ‘जनरल भीमसेन थापा र तत्कालीन नेपाल अनि बलराम जोशीले अधिकविभव स्थिरविद्युत उत्पादक पुस्तकका लागि ।

त्यस दिनको समारोहमा चर्चाको प्रमुख विषय फेरि अर्कै थियो त्यस बैठकमा मेजर जनरल ब्रह्मशमशेर (बबरशमशेरका छोरा, मदनशमशेरका भतिजा) को पनि उपस्थिति थियो उनी ९० सालको भूकम्पबारे चर्चित पुस्तक नेपालको महाभूकम्प १९९० सालका लेखक पनि हुन् । नेपाली समाजमा त्यतिन्जेल ब्रह्मशमशेरका छोरी मात्र छन् भन्ने चर्चा थियो तर त्यस दिन उनले हुर्केका दुई छोरालाई पहिलोपटक सार्वजनिक समारोहमा उपस्थित गराएका थिए ती मठ्याहातर्फका छोराहरू थिए, जसलाई पुरस्कार दिने बेलामा रानी जगदम्बाका दुईतिर उभ्याइएको थियो । यसरी राणाहरूको दरबारभित्रै गुपचुप राखिएको रहस्य’ त्यस दिन सार्वजनिक हुन पुग्यो त्यसैले उपस्थित सबैको ध्यान त्यो दृश्यले खिचिरहेको थियो ।

पुरस्कार थापिसकेपछि सबैले आफ्ना कृतिका बारेमा बोल्नुपर्ने भयो । अरु दुई जनाले त उनीहरूको समाजशास्त्र र विज्ञानसम्बन्धी विधाअन्तर्गत आफ्नै कृतिका आधारमा पुरस्कार थापेका थिए उनीहरूलाई बोल्न अप्ठेरो भएन । तर मैले त लोकगीतहरूको सङ्कलन पो तयार पारेको थिएँ । डाँडाकाँडामा गाइने लोकगीतहरू कसले कुन बेला कसरी रचना गरेका थिए भन्ने कुराको कुनै अत्तोपत्तो थिएन । अन्जान श्रष्टाका ती शब्दहरू युगौदेखि पुस्तौपुस्ताले गाउँदै आएका सिर्जना थिए । सुन्दै जाँदा मलाई ती गीतहरूले छोयो र त्यसैलाई गाउँलेहरूबाट टिपनटापन गरेको थिएँ यसरी फगत टिपेर थोरै साहित्यिक रूपले मिलाउने काम गरेकोमा के बोल्ने ?

यो किताबमा जति गीतहरू समेटिएका छन्, ती मेरा होइनन्, गाउँघरको मान्छेका हुन् भनेँ । हुन पनि त्यस किताबमा मैले माला उनेजस्तै उन्ने काम मात्र गरेको थिएँ, फूलका थुंगाहरू त गाउँलेहरूका थिए । त्यसैले त्यो गाउँघरकाको सम्पति थियो । तिनको रचना पनि उनीहरूमध्येकै कसैले एउटा कालखण्डमा गरेका हुन्छन् । यसरी रचना गर्ने मानिसको कुनै रेकर्ड रहेन । त्यसपछि ती गीतहरुलाई आफ्नै पारामा गाउँदै र यसमा अनेक प्रयोगहरू गर्दै अघि बढाउनेहरूको हात छ । त्यसैले पछिल्ला पुस्ताका गाउँलेहरूको स्वामित्व पनि त्यसमा जोडिएको हुन्छ । यसरी पुस्तौपुस्ता लगाएर विकास हुँदै गरेको लोकगीतले यात्रा पनि उ पहाड नाघ्छ, खोला तर्छ । समग्रमा भन्दा यो गाउँघरका मानिसहरूकै सम्पत्ति थियो । म सत्यमोहन जोशी त केवल त्यसलाई टिपेर ल्याइदिने संवाहकमात्रै थिएँ ।

यसरी मेरो पहिलो मदन पुरस्कारको श्रेय म गाउँघरलाई नै दिन्छु । त्यसबाहेक कलेज पढ्दै गर्दाका मेरा सङ्गतहरूले पनि मलाई लेखनका क्षेत्रन अघि बढ्न पक्कै हौस्याएको थियो । ती दिनहरूको याद गर्दा पनि मलाई रमाइलो लाग्ने गरेको छ ।

विक्रम संवत् १९९७-१९९८ सालतिर म त्रिचन्द्र कलेजमा पढ्थे। विषयगत हिसाबले कक्षा लिँदा बीचमा खाली अवधि हुन्थे । त्यस्तो खाली समय बिताउन जाने ठाउँ कतै थिएन । अहिले पो त्रिचन्द्र कलेज शहरको बीचैमा पर्छ, त्यसबेला त यही ठाउँ शहरभन्दा अलिक परै पर्थ्यो । चिया पिएर बस्न पनि छेउछाउमा पसलधरि थिएनन् त्यस्तो अवस्थामा खाली समय पनि त्यही त्रिचन्द्र परिसरमै डुलेर बिताउनु पर्थ्यो । त्यसबेला वीर पुस्तकालय त्यही घण्टाघरमुनि थियो । त्यहाँ दरबन्दीका पण्डितहरू दिनभरि घाम तापेर बसेका हुन्थे । घाममै ल्याएर कागजी ढड्डाहरू सुकाउँथे । पुस्तकालयकै पछाडि ‘नेपाली भाषा प्रकाशिनी समिति थियो । त्यसका अध्यक्ष बालकृष्ण सम थिए ।

हामी मानविकी ब्लकका मानिस विज्ञानको ब्लकमा जाँदा वा विज्ञानका मानविकीमा आउँदा बाटैमा त्यो पुस्तकालय र समिति पर्थ्यो । त्यसबेला सायद ठाउँ नपुगेर होला विज्ञान ब्लकका निम्ति पछिल्तिर नयाँ बिस्तारित भवन तयार पारिएको थियो । यस नयाँ भवनमा चाहिँ भाषानुवाद परिषद्को अड्डा राखियो यसमा बालकृष्ण समक दाजु पुष्करशमशेरको नेतृत्व थियो । परिषद्मा एकथरीले संस्कृतबाट नेपालीमा अनुवाद गरेर पुस्तकहरू तयार पार्थे भने केहीले मौलिक साहित्य पनि त्यही रहेर सिर्जना गर्थे ।

नेपाली भाषा प्रकाशिनी समितिमा त पस्ने पनि कुरा आएन । हामी बाहिरैबाट यसो चिहाएर हिँड्थ्याैँ । ‘भाषानुवाद परिषद्मा’ चाहि महाकवि लक्ष्मीप्रसाद नै बस्थे । त्यहाँ राष्ट्रकवि माधवप्रसाद घिमिरे, पण्डित बदरीनाथ भट्टराई, श्यामदास वैष्णवलगायत अन्य कर्मचारीहरू थिए ।

त्याे समूहले नै ‘भाषानुवाद परिषद् ‘ गठन हुनु पुष्कर शमशेरकै अध्यक्षतामा त्यही अङ्ग्रेजी नेपाली कोष दुईवटा खण्डमा तयार पारेको थियो । त्यसबेला पुस्तकका निम्ति छपाइको काम जोरगणेश प्रेसले यतै गरे तापनि बुक बाइन्डिङ गर्नका निम्ति कलकता लैजानुपर्थ्यो । यसरी कलकत्ताबाट ‘हार्ड कभरमा फुटबन्दी सिलाइ गरेर ल्याएपछि नै पुष्करशमशेरले भाषानुवाद परिषद् खडा गरेका थिए ।

देवकोटालाई चाहिँ मौलिक कृति सिर्जना गर्नका निम्ति बेग्लै व्यवस्था थियो । त्यही हिसाबले देवकोटाले त्यहीँ बसेर ‘शाकुन्तल’ लेखेका थिए । देवकोटाको साफी गर्ने मानिस श्यामदास वैष्णव पनि त्यही छँदै थिए । यस्तो अवस्थामा हामी त्रिचन्द्रका विद्यार्थीहरूका निम्ति कक्षा नभएको बेलामा डुल्दै गएर विभिन्न गतिविधि हेर्ने थलो भनेको त्यही भाषानुवाद परिषद्’ थियो त्यही हामीबीच चिनाजानी बढ्दै गयो मात्रा र छन्द थाहै थियो अब सङ्गतले सानोतिनो कविता पनि लेख्ने काम थालेँ ।

त्यस्तै अवस्थामा माधवप्रसाद घिमिरेसँग मेरो भेट भएको थियो । त्यही देवकोटा र पुष्करशमशेर पनि भेटिए । आफ्नो कार्यथलोमा फुर्सदमा बसिरहेका यी व्यक्तिहरू हामी पुग्दै पुग्ने विद्यार्थीलाई देखेपछि सोधपुछ गर्ने बसाएर कुरा गर्थे । त्यही क्रममा कक्षामा अङ्ग्रेजी पुस्तकका कथाहरू पढ्दा पढ्दै ‘आँट गरे भने मैँ पनि लेख्न सक्छु कि !’ भन्ने सोच पलाउन थाल्यो ।

मैले केटाकेटीका लागि कविता लेखेर सुरुवात गरेको थिएँ । मातृभाषा नेपाली नभए पनि त्यो कोसिस गरेँ, सिकारुकै रूपमा । कविताको शीर्षक ‘लामा’ थियो । अनुष्टुप छन्दमा त्यसलाई लेखेको थिएँ । त्यो पढ्दा आफूलाई त राम्रै लाग्यो तर आफूभन्दा जान्ने अरूलाई हेर्न लगाएर मूल्याङ्कन गराउनु पो उचित हुन्छ भन्ने लागेर मैले आफ्ना रचनाहरू देवकोटा र माधव घिमिरेलाई सुनाउन थालेँ ।

चिनजान भएपछि घर पनि सोधियो । घिमिरे त्यो बेला पकनाजोलमा डेरा लिएर बसेका रहेछन् । मलाई घरैमा गएर भेट्न र आफ्ना रचना देखाउँदै सिक्न पनि मन थियो । एउटा बिदाको दिन पारेर म पकनाजोलस्थित उनको घर पुगेँ । त्यसबेला श्रीमती गाैरी नै थिइन् । काठमाडौंका कुनै नेवारकै त्यो ठूलो घर थियो । त्यसकै चोटामा बसेर हामीबीच कुराकानी भयो । पछिपछि पनि भेटघाट त्यही हुन्थे । म नेवारको सन्तान भएकाले नेपाली व्याकरण उति मिलेकाे हुँदैनथ्यो । त्यसैले कतैकतै घिमिरे आफैँले सच्याइदिन्थे ।

घिमिरेजीसँग कालान्तरमा एकसाथ नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानकाे नियुक्तिमा पनि परेँ । एकडेमीमा सबैभन्दा लामा र प्रभावकारी उपस्थिति उनकै रह्यो । कुलपतिसम्मै भए । म २०२६ सालमा पहिलाेपटक एकेडेमीमा सहप्राज्ञ बनाइँदा घिमिरे प्राज्ञ थिए । एकेडेमीमा जानुअघि मैले लामाे समय लमजुङतिर खटिएर त्यस भेगको अनुभव लिइसकेको थिएँ । त्यसैले पनि लमजुङकै पुस्तुनका घिमिरे र मबीच भेटघाटका बेलाहरूमा सहकर्मीमात्र नभई एक किसिमको आत्मीयता पनि प्रकट हुन्थ्यो ।

पकनाजोल बसुन्जेल त घरमै आवतजावत गर्थें । पछि घिमिरेजीले कपुरधारामा आफ्नै घर बनाए तर पकनाजोलको डेराजत्तिको मेरो आवतजावत त्यस घरमा भएन । निकै पछि अरनिकोको किताब लेखेपछि उपहारस्वरूप दिन एकपटक उनको घर गएको थिएँ । त्यसै गरी महाकवि देवकोटालाई पनि मैले त्रिचन्द्रमा पढ्दै एउटा कविता सुनाएको थिएँ । सुनेपछि महाकविले ‘ए जोशीजी ! ल एउटा बालकविता पनि भन्छु, तपाईं लेख्नुस्’ भने ।

मैले कापी लिएर लेख्न थालेँ । देवकोटाचाहिँ ओहोर दोहोर गर्दै कविता मन्द गर्न थाले । उनको विशेषता नै त्यही थियो । त्यो वसन्ततिलका छन्दमा थियो । चौध-चौधवटा अक्षर मिलाएर लेखिनुपर्ने भएकाले अलिक गाई/खरायोले सिंहलाई इनारमा खसालेको लोककथालाई बालकवितामा ढालेर त्यतिबेला देवकोटाले सुनाएका थिए । ओहोरदोहोर गर्दागर्दै छन्दमै फररर बोल्दै गए, मचाहिँ टिप्न थाले । कविता सकिएपछि देवकोटा टक्क अडिए र मतिर हेर्दै ठीक भो भनेर सोधे । मैले टाउको हल्लाएँ । ‘ल, त्यसो भए हेरी अब देवकोटाले भने । मैले देखाएँ त्यो कविता मलाई नै दिएर पठाएका थिए तर त्यस्तो महत्त्वपूर्ण सम्पति मैले जोगाएर राख्न सकिनँ ।

देवकोटासँगको मेरो अर्को पनि सम्झना छ । एक दिन म त्रिचन्द्र कलेजतिरै गइरहेको थिएँ । कलेजकाे ढाेकाबाट देवकोटा निस्कँदै गरेकाे देखेँ । त्यसबेला नोटको चलन थिएन सबै सिक्कामै व्यवहार हुन्थ्यो । ठूलो रकम लेनदेन भएको छ भने भारी नै बोकेर हिँड्नुपर्थ्यो । देवकोटा त्यसैगरी भारी बोकेर निस्किरहेका थिए । अञ्चलाधीश कार्यालयको पर्खालनजिकै मेरो र देवकोटाको जम्काभेट भयो ।

एउटा हातले पैसाको भारी थैलो समातेका अनि अर्को हातले च्यापेको चुरोट घरी मुखमा हाल्दै त घरी त्यही कपडाको थैलो समात्दै थिए उनी ।

‘ओहो के हो यस्तो ? भनेर मैले सोधेँ । त्यसैदिन कुनै किताब लेखेबापत उनले पाएको पैसा सम्हाल्दै आइरहेका रहेछन् । कोही भरिया लगाए पनि त हुन्थ्यो भन्ने मलाई लाग्यो । देवकोटाले त्यसरी पैसाको भारी सकिनसकी उठाइरहेको देखेपछि मैले त्यो भारी बोकेर सघाइदिऊँ कि ? भनेर सोधें । उनी मानेनन् र आफैँले बोक्दै गए । चुरोट तान्दै महाकविजी परैसम्म गइरहेको हेरिरहेँ ।

त्यो अहिलेजस्तो बाटोमा मानिसहरू ठेलमठेला हुने समय पनि थिएन । चराेचकारी पनि हुँदैनथ्यो । मानिसहरू भन्थे, यसरी पैसा बोकेर हिँडेका देवकोटाले प्रायः बाटोभरि पुरानो ऋण तिर्दातिर्दे बाटैमा पैसा सक्थे रे । यसरी देवकोटा, पुष्करशमशेर र माधव घिमिरेका घरहरूमा मेरो आवतजावत सुरु भएको थियो ।

देवकोटाको घरमा जाँदा पनि चोटामै बसेर कुराकानी हुन्थ्यो । उनको बसाइँ असाध्यै साधारण किसिमको थियो । उनै देवकोटा पछि २०१४ साल साउनको केआई सिंह मन्त्रीमण्डलमा शिक्षामन्त्री बनाइए । त्यो समाचारले मलाई भित्रैदेखि असाध्यै खुसी लाग्यो । थाहा पाउनेबित्तिकै म उनलाई भेट्न घरै पुगेँ घरमा त टनाटन मानिस भरिएका रहेछन् । पूरै चहलपहल थियो । आफू मन्त्री बनाइए पनि त्यो मन्त्रालय कहाँ छ भनेर चाहिँ देवकोटालाई थाहै रहेनछ एकैछिनमा उनका ज्वाइँ पनि साइकल चलाएरै त्यहाँ आइपुगे ज्वाइँलाई पनि त्यो मन्त्रालय कहाँ छ भनेर थाहा रहेनछ ।

म सङ्ख्या अड्डाको सरकारी जागिरे । मेरो कार्यालय वसन्तपुरमा भए तापनि कामकाजले सिंहदरबार गइरहनुपर्थ्यो । थुप्रै चोक रहेको सिंहदरबारको पहिलोचोरिक्षा मन्त्रालय थियो । त्यसैले सिंहदरबार परिसरभित्रको त्यो मन्त्रालय भवन देखेको छु भनेर मैले सुनाएँ । त्यसपछि देवकोटाजीले लाै जाऔँ उसोभए भने । लगत्तै मोटरमै चढेर देवकोटाजी, उनका ज्वाइँ र म मैतीदेवीबाट सिंहदरबार पुगेका थियौँ । पछाडिको सिटमा देवकोटाजी र म सँगै बसेका थियाैँ । बाटोमा पनि हामीबीच खासै कुराकानी भएन । उही सधैँजस्तै सामान्य भलाकुसारीमात्र भयो ।

त्यसपछि मन्त्री हुन्जेल हाम्रो भेटघाट भएन । उनी आफ्नै काममा व्यस्त भए, म आफ्नै काममा । त्यसो त उनको कार्यअवधि पनि छोटै थियो । पछि उनी फेरि साहित्य साधनामै फर्किए । प्रज्ञा प्रतिष्ठानमै समेटिए । देवकोटालाई उतिबेलै सुनाएका मेरा ‘लामा’ र ‘पाचुके’ शीर्षकका पद्यात्मक कथा पछि प्रकाशित पनि भए । त्यसलाई पारसमणि प्रधानले कालिम्पोतिरबाट निकालेको भारती पत्रिकामा छापेका थिए । त्रिचन्द्रमै पढ्दै मैले लेखेका कविता निबन्धहरू गोरखापत्रमा समेत प्रकाशित भइसकेका थिए ।

यसरी मैले विद्यार्थी कालदेखि नै साहित्यिक क्षेत्रका शीर्षस्थ हस्तीहरूसँग नजिक रहने मौका पाएँ । मानविकीको विद्यार्थी भएका नाताले पाठ्यक्रममै र बाहिर पनि विश्वका ठूला कविहरूको कृति पढ्ने अवसर पाएँ । यसले ममित्र साहित्यको रसलाई भर्दै लग्यो । २००१ सालमा सरकारी जागिरे भएपछि तथ्याङ्क सङ्कलनका निम्ति तनहुँ र लमजुङ जिल्लामा खटिएर गएको समयले पनि यसमा थप मलजल गर्ने काम गन्यो । त्यसबेलाको नेपालका प्रत्येक हिस्साहरू आफ्नै मौलिक विशेषताले भरिएका थिए । काठमाडौं उपत्यकाको नेवार संस्कृतिमा जन्मेहुर्केको मलाई तनहुँ र लमजुङका प्रत्येक अनुभवले एउटा बेग्लै दुनियाँमा पुन्यायो । सुरुमा विषाद झेल्नुपरे पनि बिस्तारै म ती गाउँका रहनसहन र मेलापातसँग नजिकिदै गएँ । त्यहाँको प्रकृतिले मलाई मोहनी लगाउँदै गयो । त्यतिबेलै चलिरहेको दोस्रो विश्वयुद्धबाट सर्वाधिक प्रभावित त्यो भेगका भोगाइहरू पनि सङ्गीतमै गुन्जिरहेको अनुभूत गर्न पाएँ । त्यसैगरी नवनमा गुन्जिएका लोकभाकाहरू झनै अद्भुत लाग्यो ।

२००१ सालबाट काम सुरु गरेको त्यो भेगमा मैले आउनेजाने हिसाबले दुई-तीन वर्ष बिताएको थिएँ । गाउँघरको रस बस्दै गएपछि मलाई लोकगीतहरू टिप्दै हिँड्ने घुन पनि जाग्न थाल्यो । म आफ्नो जागिरे कामबाट बचेको समय यस्तै संकलनहरुले अनुभवहरू कापीमा दिपेर काठमाडाैं ल्याएँ । त्यसबेला काठमाडौंको साहित्यिक वृत्तमा ‘शारदा’ पत्रिकाको प्रभाव थियो । १९९१ सालको सरस्वती पूजाका दिन काठमाडौंबाट शारदा पत्रिकाको प्रकाशन सुब्बा ऋद्धिबहादुर मल्लको प्रयासमा सुरु भएको हो । राणाकालमा चेतनाको ज्योति छर्न त्यसको अहम् भूमिका रह्यो ।

लेखनाथ पौड्याल, बालकृष्ण सम, चक्रपाणि चालिसे, बोधविक्रम अधिकारी, प्रेमराज शर्मा, लक्ष्मीप्रसाद देवकोटा, सिद्धिचरण श्रेष्ठ, पुष्करशमशेर, रुद्रराज पाण्डे, गुरुप्रसाद मैनालीका एक से एक कृतिहरू त्यसमा छापिन थालेपछि साहित्यका क्षेत्रमा ठूलो तुफानन त्यसले ल्याएको थियो । त्यसैगरी बिस्तारै युवा पुस्ताबाट पनि भवानी भिक्षु, विश्वेश्वरप्रसाद कोइराला, गोपालप्रसाद रिमाल, भक्तबहादुर रायमाझी, गोविन्दबहादुर मल्ल ‘गोठाले, विजयबहादुर मल्ल, रत्नध्वज जोशी, भीमनिधि तिवारीजस्ता लेखकहरू त्यसमा देखा पर्दै गएका थिए ।

यसै हिसाबले अघि बढ्दै आएको शारदामा २००३ सालतिर गोपालप्रसाद रिमाल अन्तरङ्ग सम्पादक थिए । घरको छिडीमा छापाखाना राखेका सुब्बा ऋद्धिबहादुरले व्यवस्थापनको काम मात्रै हेर्थे भने सम्पूर्ण सम्पादकीय दायित्व रिमाल एक्लैले सम्हालेका हुन्थे । मेरा सङ्कलनहरूको बारेमा जानकारी पाएपछि उनले मसँग लेखहरू माग्न थाले । त्यसरी मैले सङ्कलन गरेर ल्याएका गीतहरू र मेरा आलेख शारदामा छापिन थाले ।

२००३ सालको माघ महिनामा ग्रामीण गीत शीर्षकमा केही गीत छापिए । तनहुँ र लमजुङका अनुभवमा आधारित मेरा सङ्कलन र रचनाहरू पछिसम्मै शारदामा छापिए । गीत र लेखरचना त्यसबेला शारदाबाहेक प्रगतिमा पनि छापिन्थे । पश्चिम तराईतिरबाट आएका नारायणप्रसाद बाँस्कोटा कला र साहित्यमा असाध्यै रुचि राख्थे । राजा महेन्द्रसँग कुराकानी गरेर लैनसिंह बाङ्देललाई युरोपबाट नेपाल झिकाउनेमा उनकै महत्त्वपूर्ण हात थियो बाङ्देल नेपाल आएपछि बाँस्कोटाकै कानदेवता स्थानस्थित घरमा बसेका थिए । अहिले बीएन्डबी अस्पतालसमेत खोलेका प्रसिद्ध हाडजोर्नी चिकित्सक अशोक बाँस्कोटा उनकै छोरा हुन् ।

तिनै नारायणप्रसाद बाँस्कोटाले उति बेलै बनारस पुगेर प्रगति पत्रिका निकाल्ने र नेपालमा ल्याएर वितरण गर्ने काम गर्थे हरेक दुई महिनामा आफै बनारस पुग्दै छपाएर ल्याउने त्यो पत्रिकाको गुणस्तर असाध्यै राम्रो थियो ।

यसरी शारदाका निम्ति कवि रिमाल र प्रगतिका निम्ति बाँस्कोटा दुवैले मसँग मेरा सङ्कलनका गीतहरू माग्थे । दुवैले यसलाई छाप्न पनि सुरु गरे ।

त्यसैगरी रेडियो नेपालमा पनि पुगेर यस्ता गीतहरू काम लाग्छन् कि भनेर सोधेँ । त्यसबेला गाउँतिर सुनेकै जस्तो भाका हालेर गाउन म रेडियोमा त मलाई गाउन लगाएर रेकर्ड गरिदिए :

गोपी बाँसको यो मुरली
भक्याम्लोको ठेडी

चरी भए उडेर जान्थे
सम्झी ल्याउँदा खेरी
नकरा वनको न्याउली
तँभन्दा म छु नि वैरागी !

यसरी मेरा सङ्कलनहरू रेडियोमा र पत्रपत्रिकामा आउन थाले ।

त्यसै क्रममा शारदा पत्रिकाको २००३ साल माघ महिनाको अङ्कमा कवि रिमालले मेरा सङ्कलनका प्रकाशित गीतहरूप्रति टिप्पणी गर्दै एडिटोरिय नोटसमेत प्रकाशित गरिदिए । त्यस नोटमा भनिएको थियो, ‘हाम्रो नेपाल गीतले गुन्जिरहेछ तापनि कसैले त्यसको सङ्ग्रहपट्टि ध्यान लगाएको थिएन । श्री सत्यमोहन जोशीज्यूले त्यस काममा मन लगाइदिनुभएको देख्दा विशेष लागेको छ । बरू यी गीतहरूले आफू जन्मेको ठाउँ विशेषको वातावरण र जीवनलाई कत्तिको चित्रित गर्छन्, त्यसपट्टि पनि सङ्ग्रहकर्ताले ध्यान दिएको भए अझ बेस हुन्थ्यो ।’

उनको टिप्पणीले म झसङ्ग भएँ । हुन पनि हो, किसानले दाइँको बेला गाउने गीत भनेर उल्लेख गरिरहँदा त्यसका बारेमा पनि थोरै लेखिदिए पाठकहरू स्पष्ट हुन्थे; जस्तो कि म काठमाडौं उपत्यकामा किसानहरूले धानलाई पुट्ने परम्परामा हुर्केको थिएँ । जब कि तनहुँ-लमजुङतिर गोरुलाई मियोमा घुमाएर दाइँ गरिन्थ्यो । त्यसरी गोरूलाई घुमाउने र त्यतिबेला गाइने गीतका बीचमा अन्तरङ्ग सम्बन्ध हुन्छ, जुन कुरा काठमाडौंका पाठकले नबुझ्न पनि सक्छन् ।

‘यस्ता गीतहरू रोपाइँमा गाएको हो कि, भजनकीर्तनमा गाइएका हुन् । चरित्र नाच गर्दाखेरि गाएका हुन् कि वा रोदी बस्दा गाइएका हुन् भन्ने खुले गरी आउनुपर्छ ।’ सम्पादकको टिप्पणी दिन खोजेको अर्थ थियो, कुन जातिका मानिसले गाएका हुन् भन्ने पनि थाहा दिइनुपर्छ ।’ त्यसपछि मैले गीत सङ्कलनका साथसाथै त्यसका पृष्ठभूमि पनि खोज्न सुरु गरेँ । पधेरातिर जाँदा पचेर्नीहरूले गाएको हो कि, घाँस दाउरा गर्न जानेहरूले गाएका हुन् कि, देउरालीमा भीमसेनपाती चढाउने बटुवाले गाएको हो कि अथवा चौतारीमा बसेकाहरूले गाएका हुन् वा भजनकीर्तन वा रोदीमा सुनेको हुँ, गीतका साथमै त्यो सब पनि खुलाउने काम गरे ।

झट्ट हेर्दा उतिखेर सम्पादकले गरेको त्यो एउटा टिप्पणी मात्र थियो तर कालान्तरमा त्यो सम्पादकीय टिप्पणीकै आधारमा मैले तयार पारेको पुस्तक हाम्रो लोक संस्कृतिले मदन पुरस्कारको इतिहासमै पहिलो पुरस्कार प्राप्त गर्ने शौभाग्य पायो । त्यति बेलासम्म कसैले पनि यसलाई लोकगीत भन्दैनथे । खुद शारदा पत्रिकाले ‘समेत ग्रामीण गीत’ लेखेको थियो । त्यति बेला यस्तो काम गर्ने भनेका धर्मराज थापा थिए । उनले धरि आफ्नो कृति वनचरोमा असारे र झ्याउरे गीत भनेर चिनाएका थिए अर्थात् यी गीतहरूलाई असारे, झ्याउरे वा ग्रामीण गीत भनिन्थे । यस्तो स्थितिमा मैले तयार पारेको पुस्तकको नाम राखे, ‘हाम्रो लोक संस्कृति ।

‘लोक संस्कृति’ भन्ने शब्दै त्यहाँबाट आएपछि त्यसैबाट लोकगीत पनि भन्न सुरु गरिएको मेरो बुझाइ छ । यस विषयमा कुनै स्वतन्त्र अनुसन्धाताले बुझेर लेखिदिए हुन्थ्यो । फेरि त्यो मेरो पहिलो पुस्तक हाम्रो लोक संस्कृति प्रकाशन गर्न सकेको थिइनँ त्यस बेला मजस्तो पहिलोपटक किताब छाप्न खोज्ने मानिसका निम्ति कहाँ त्यति सजिलो थियो ? मैले हस्तलिखित पाण्डुलिपि तयार पारेर राखेको थिएँ । त्यसै क्रममा २०१३ मदन पुरस्कारका लागि गुठीको सूचना प्रकाशित भयो । त्यो सूचनामा ‘कसैको कृति छ भने हामीकहाँ बुझाउन ल्याउनू । त्यसरी बुझाएका मध्येबाटै पुरस्कार दिइनेछ’ भनिएको थियो । मैले त्यही सूचनालाई पछ्याउँदै मदन पुरस्कार गुठीलाई पुस्तकको पाण्डुलिपि नै दिएको थिएँ । फेरि पाण्डुलिपि पनि तीनप्रति चाहिने भयो । एउटा प्रति राख्ने एउटा सार्वजनिक पुस्तकालयमा र ती एकप्रति लेखकसँग हुने त्यसबेला हिजोआजजस्तो फोटोकपीको जमाना थिएन । लियोसमेत इसकेको बेलामा कसरी तीनप्रति तयार पार्ने ? यस्तोमा मैले हातले लेखेरै पुस्तकको तीनप्रति तयार पारेको थिएँ । त्यसपछि विधि पुर्‍याएरै मुठीमा दर्ता गरेँ । त्यसको केही समयमै मैले पहिलो मदन पुरस्कार जितेको घोषणा सार्वजनिक भएको थियो । त्यसदिन मलाई दुईतिरबाट समातेका पण्डितराज सोमनाथ र कवि शिरोमणि लेखनाथका सामुन्ने रानी जगदम्बाको हातबाट मैले मदन पुरस्कारसहित चार हजार कम्पनी रुपैयाँ प्राप्त गरेको थिएँ । त्यसबेला कम्पनीको भाउ अलिक महँगो भएको हुनाले त्यो पैसाको नेपाली मूल्य झन्डै ६ हजार हाराहारी हुन पुग्यो ।

त्यसबेला म सरकारी सेवाको खरदारसरह तलब पाउँथे । महिनाभरि काम गरेपछि पचास रुपैयाँ दाम आउँथ्यो त्यसमा पनि आठ रुपैयाँ त सञ्चयकोषमा जान्थ्यो । यस्तो अवस्थामा सरकारी कामबाट बचेको समयमा किताब लेखेबापत एकसाथ ६ हजार रुपैयाँ प्राप्त गरेको थिएँ । मलाई अलिक दिन त त्यत्रो पैसा कहाँ र कसरी राख्ने भन्ने चिन्ताले सताएको थियो । थोत्रो घर भएको अवस्थामा मैले त्यो पैसा सुरक्षित पनि रहन्छ भन्ने सोचेर सेफ किन्ने निधो गरे। आफैँ गएर इन्द्रचोकको चोकाछे गल्लीबाट तीन सय रुपैयाँमा सेफ किनेर ल्याएको थिए । त्यसैमा पैसा राखेँ । मैले त्यसरी त्यत्रो पैसा पाएको थाहा पाएपछि भर्खरै काठमाडौंमा पर बनाउने तयारीमा लागेका कविवर माधवप्रसाद घिमिरेले मेरा साथी नरकान्त अधिकारीमार्फत सापटी मागेका थिए । अधिकारीले मलाई भाइ कविवर घिमिरेले कपुरधारामा घर बनाउँदै छन् । उनलाई पैसाले साहै आपत् परेको रहेछ भनेर सुनाए तर मैले त्यो बेला उक्त पैसा घिमिरेलाई दिइनँ । त्यो पैसा मेरा बालाई दिइसकेको जवाफ दिए । सत्य पनि त्यही नै थियो ।

यसरी त्यो पहिलो मदन पुरस्कार पाएपछि मसँग सापटी माग्ने मात्र नभई मेरा बालाई आफ्ना विभिन्न सम्पत्ति बेच्न खोज्नेहरूको पनि त्यो ताका मेरो घरमा लाइन लागेको थियो । जे होस्, त्यस बेलाका लागि त्यो ठूलो रकम थियो सबै पैसा घरव्यवहारमै खर्च भयो ।

यसरी मेरो बाटो जीवनभरका निम्ति नेपाली वाङ्मयको सेवामा मोडिन पुग्यो । पुस्तक लेखेर पनि छाप्न नसकेको मलाई त्यो पहिलो मदन पुरस्कार ‘हाम्रो लोक संस्कृतिको पाण्डुलिपिले दिलाएको थियो । मदन पुरस्कार प्राप्त गरिसकेपछि त्यस पाण्डुलिपिलाई रत्न पुस्तक भण्डारले बनारसतिरबाट छापेर ल्याएको थियो ।

(गिरिश गिरिद्वारा लिखित ‘सत्यमोहन’ पुस्तकबाट साभार )