धुलाबारीमा ओलीले गरे कार्यकर्तामाझ सम्बोधन

मेचीनगर । रुघा र ज्वरोबाट ग्रसित भएका नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली चुनावी कार्यक्रममा सहभागी भएका छन् ।

ओलीको सचिवालयले दिएको जानकारी अनुसार उनको स्वास्थ्यमा सुधार आएसँगै ओली चुनावी तालमेल गरेको दल राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसँगै बुधबार कार्यक्रममा सहभागी भएका हुन् ।

मेचीनगरमा राप्रपा र एमालेले संयुक्त रुपमा अगुवा कार्यकर्ता प्रशिक्षण आयोजना गरेका छन् । मंगलबार गृहजिल्ला झापा आइपुगेका एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री ओली रुघा र ज्वरोले सताएपछि दमकस्थित घरमै आराम गरेका थिए ।

धुलाबारीमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा उनले एमाले विजय नजिक पुगेको बताए । कार्यक्रममा राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देन, झापा क्षेत्र नं १ का एमाले उम्मेद्वार अग्नि खरेल, प्रदेश सभा ‘क’ उम्मेद्वार रविन कोइराला, ‘ख’ का उम्मेद्वार सविना बजगाईं लगायतले मन्तव्य राखेका थिए । अगुवा कार्यकर्ता हरिचरण बानियाँको अध्यक्षता तथा एमालेका क्षेत्रीय संयोजक टिकाराम मंग्रातीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।