ढलिसकेको राजतन्त्र पुनः स्थापित गराउँछु भन्दै हिड्नेको भर नगर्न सबैलाई आग्रह

झापा । नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले संविधानको रक्षा गर्न र लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न सबै एक भएर लाग्नुपर्ने समय आएको बताएका छन् ।
बाह्रदशी–५ स्थित ‘बाह्रदशी साहित्य तथा कला प्रतिष्ठान’ले आज आयोजना गरेको प्रदेश प्रखण्डस्तरीय अन्तर मावि कविता प्रतियोगिता एवं पुस्तक विमोचन समारोहमा पूर्वउपप्रधानमन्त्रीसमेत रहेका सिटौलाले संविधानको मर्म विपरीत हिँड्ने जो कोही निर्वाचनपछि आफैँ पाखा लाग्ने बताए ।
“हामी निर्वाचनको सम्मुखमा छौँ”, नेता सिटौलाले भने, “पटकपटक संविधान भङ्ग गर्न खोज्नेहरूलाई जनताले नजिकबाट नियालिरहेका छन् । यस पटकको निर्वाचनमा त्यसको परिणाम उनीहरूले आफैँ भोग्नेछन्, तपाइँ हामीले केही भनिरहनु पर्दैन ।”
नेता सिटौलाले ढलिसकेको राजतन्त्रलाई बोकेर हिँड्नेहरूका दिन गइसके भन्दै त्यस्तालाई कसरी बोकेर हिँड्न सक्या होला भनि टिप्पणी गरे । “ढलिसकेको राजतन्त्र पुनः स्थापित गराउँछु भन्दै हिँड्नु र मरिसकेको मानिसलाई पुनः जीवित बनाउँछु भन्नु उस्तै होइन”, उनले भने, “अहिले पनि हटिसकेको राजसंस्था पुनःस्थापित गराउने भन्दै हिँड्नेहरू तपाइँ हामी कहाँँ आउन सक्छन्, भम्रमा नपर्नु होला ।”
फरक÷फरक आस्था र विचार राख्ने हामी सबैलाई स्रष्टा र सृजनाले एकै ठाउँमा बाँध्न सक्ने भएकाले राजनीतिभन्दा साहित्य धेरै शक्तिशाली भएको नेता सिटौलाको भनाइ थियो ।