युवा संघ विराटनगरका अध्यक्ष लामाको घरमा बन्धक बनाइएका यादवको उद्दार

विराटनगर । युवा संघ नेपाल विराटनगर महानगर कमिटी अध्यक्ष किरण लामाले आफ्नै घरमा बन्धक बनाए राखेको अवस्थामा एक युवकलाई मोरङ प्रहरीले उद्दार गरेको छ ।

लामाले पाञ्चालीस्थित घरमा बन्धक बनाएर राखेको अवस्थामा प्रहरीले विराटनगर-८ का नोबल यादवलाई उद्दार गरेको हो । लामाले यादव र उनका अर्का साथीलाई आज (शुक्रबार) दिउँसो घरमा बन्धक बनाएर कुटपीटसमेत गरेका थिए । लामा समूहका कुटपीटबाट घाइते भएका दुई मध्ये एक जना उम्किएर भागेका थिए । उनैले मोरङ प्रहरीलाई घटनाको बारेमा जानकारी दिएपछि प्रहरीले लामाको घर खानतलासी गर्दा बन्धक बनाइएका यादवलाई फेला पारेर उद्दार गरेको थियो ।

प्रहरीले यादवको उद्धार गरेपनि शरीर बन्धक बनाउने युवा संघका अध्यक्ष लामालाई भने पक्राउ गरेको छैन । राजनीतिक आवद्धताकै कारण मोरङ प्रहरीका प्रमुखले घटनालाई ढाकछोप गर्ने प्रयत्न गरिरहेको पीडित पक्षको आशंका छ । ‘हामीले लामासँग ५ लाख रुपैयाँ चलाएका थियौं, किरणले दिउँसो १२ बजेतिर फोन गरेर घरमा बोलाएपछि हामी गएका थियौं,’ यादवले भने ‘त्यहाँ पुगेपछि तुरुन्त पैसा तिर्नु भनेर घरमै थुनेर राखे, साथीले जिल्लामा खबर गरेपछि हामीलाई प्रहरीले छुटाएर लगेको हो ।’ लामाले मिटर ब्याजमा पैसा लगानी गर्ने गरेको पनि यादवले बताएका छन् । उनले ५ लाख रुपैयाँ कर्जा लिएको भएपनि १० लाख रुपैयाँ भुक्तानी दिइसकेका थिए । लामाले थप ५ लाख रुपैयाँ दिन दबाब दिँदै घरमै बन्धक बनाएका हुन् ।

स्रोतकाअनुसार युवा संघका नेता लामाले एमाले नेता पर्शुराम बस्नेको पैसा मिटरब्याजमा लगानी गर्ने गरेका छन् । लामाले यसअघि विराटनगरका एक जना पत्रकारलाई पनि कुटपिट गरी यातना दिएको घटना बाहिरिएको थियो । घटनाको सम्बन्धमा ढाडो उजुरी मात्र परेको भन्दै मोरङ प्रहरीले कारवाही प्रक्रिया अगाडि बढाउन आनाकानी गरिरहेको छ । घटना गम्भीर प्रकृतिको नभई सामान्य भएको बताउँदै आएको छ ।