अर्थतन्त्र सुधारोन्मुख ! यस्ता छन् प्रमुख वित्तीय सूचक

काठमाडौं । विश्वव्यापी रूपमा संकट रहेको अर्थतन्त्र नेपालमा भने सुधारोन्मुख देखिएको छ । नेपाल राष्ट्र बैंकले गएका केही महिना गरेको कडाइका कारण अर्थतन्त्रमा सकारात्मक प्रभाव देखिएको हो । राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०७९/०८० को मंसिर महिनासम्म अर्थतन्त्रमा केही सकारात्मक संकेत देखिएको छ ।

विशेषगरी बाह्य क्षेत्रमा सुधार देखिएको छ । निरन्तर रूपमा आयात घटेको छ । तर, निर्यात घट्दा व्यापार घाटामा केही हदसम्म दबाब देखिएको छ ।

गत वर्षको मंसिर मसान्तसम्म अर्थतन्त्र चापमा थियो । राष्ट्र बैंकका अनुसार गत वर्षको तुलनामा चालु खातामा दुई खर्ब ६० अर्बले सुधार देखिएको छ । त्यस्तै, विदेशी विनिमय सञ्चिति पनि बढेको छ । रेमिट्यान्स आयमा २३ प्रतिशतले वृद्धि भएको छ ।

तर, प्रत्यक्ष विदेशी लगानी भने घटेको छ । गत वर्षको मंसिर मसान्तसम्म सात अर्ब सात करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको थियो । चालु आर्थिक वर्षको पाँच महिनामा ६० करोड ४९ लाख रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको राष्ट्र बैंकले जनाएको छ ।

वैदेशिक मुद्रा सञ्चिति बढ्दै गएकाले बाह्य क्षेत्रमा सन्तुलन देखिएको छ । आयातमा आधारित अर्थतन्त्र भएकाले आयातमा लगाइएको प्रतिबन्ध खुलेसँगै फेरि पनि बाह्य क्षेत्रमा दबाब हुने राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापा बताउँछन् । यसलाई सन्तुलनमा ल्याउन निर्यात हुने वस्तु बढाउनुपर्ने उनको भनाइ छ ।

चालु खातामा सुधार
चालु आर्थिक वर्ष २०७९/०८० को पाँच महिनामा देशको चालु खातामा सुधार देखिएको छ । गत आर्थिक वर्षको मंसिर मसान्तसम्मको तुलनामा चालु खातामा दुई खर्ब ६० अर्ब ६० करोड रुपैयाँले सुधार भएको हो ।

चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म चालु खाता ३७ अर्ब ९१ करोड रुपैयाँ घाटामा छ । तर, गत वर्षको मंसिर मसान्तसम्म अवधिमा चालु खाता दुई खर्ब ९८ अर्ब ५१ करोडले घाटामा थियो ।

प्रत्यक्ष वैदेशिक लगानी ६० करोड ४९ लाख पुगेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत प्रत्यक्ष वैदेशिक लगानी सात अर्ब ७ करोड रहेको थियो ।

शोधनान्तर स्थिति बचतमा
चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म शोधनान्तर स्थिति ४५ अर्ब ८७ करोड रुपैयाँले बचतमा रहेको छ । गत वर्षको मंसिर महिनामा शोधनान्तर स्थिति एक खर्ब ९५ अर्ब एक करोडले घाटामा थियो ।

विदेशी विनिमय सञ्चिति वृद्धि
चालु आर्थिक वर्ष २०७९/०७९ को पाँच महिनामा विदेशी विनिमय सञ्चिति ६.३ प्रतिशतले वृद्धि भएको छ । चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म विदेशी विनिमय १२ खर्ब ९२ अर्ब ५६ करोड रुपैयाँ कायम भएको हो ।

गत असार मसान्तमा यस्तो सञ्चिति १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ थियो ।

विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति ११ खर्ब ३९ अर्ब २२ करोड रुपैयाँ पुगेको छ । राष्ट्र बैंक बाहेक बैंक तथा वित्तीय संस्थासँग मंसिर मसान्तस एक खर्ब ५३ अर्ब ३४ करोड रुपैयाँ विदेशी विनिमय सञ्चिति कायम भएको राष्ट्र बैंकले जनाएको छ ।

९ महिनाको वस्तु तथा सेवा आयात धान्ने
आर्थिक वर्ष २०७९/०८० को पाँच महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १० महिनाको वस्तु आयात र झण्डै ९ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

२३ प्रतिशतले बढ्यो रेमिट्यान्स आय
चालु आर्थिक वर्ष २०७९/०८० को पाँच महिनामा रेमिट्यान्स आप्रवाह २३ प्रतिशतले बढेको छ । मंसिर मसान्तसम्ममा रेमिट्यान्स आय २३ प्रतिशतले बढेर चार खर्ब ८० अर्ब ५० करोड रुपैयाँ पुगेको हो । गत वर्षको सोही अवधिमा विप्रेषण आय ६.३ प्रतिशतले घटेको थियो ।

सरकारको नगद मौज्दात घट्यो
मंसिर मसान्तमा राष्ट्र बैंकमा रहेका सरकारका विभिन्न खातामा एक खर्ब ८२ अर्ब ४३ करोड रुपैयाँ नगद मौज्दात रहेको छ । यो रकम प्रदेश सरकार तथा स्थानीय सरकारको खातामा रहेको नगद मौज्दातसमेत हो । ०७९ असार मसान्तमा यस्तो मौज्दात दुई खर्ब २७ अर्ब ६९ करोड रुपैयाँ थियो ।

पुँजीगत खर्च बढ्यो
आर्थिक वर्ष २०७९/०८० को पाँच महिनामा ३३ अर्ब ९९ अर्ब रुपैयाँ पुँजीगत खर्च भएको छ । गत वर्षको तुलनामा पुँजीगत खर्च बढेको हो । गत वर्षको पाँच महिनामा २८ अर्ब ४० करोड रुपैयाँ मात्र पुँजीगत खर्च भएको थियो ।

त्यस्तै, मंसिर मसान्तसम्म तीन खर्ब ५४ अर्ब २६ करोड रुपैयाँ चालु खर्च भएको राष्ट्र बैंकले जानकारी दिएको छ ।